अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच भएको हिंसामा २४ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असार २५ गते १०:०१ मा प्रकाशित

पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुई जना गर्भवती महिला समेत रहेको प्रहरीले जनाएको छ । हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसहरुको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पपुवा न्यूगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला प्रान्तमा आदिवासी समुदायहरुबीच सदियौंदेखि हिंसात्मक झडप भइरहेका छन् । हेला प्रान्तमा विगत तीन दिनदेखि आदिवासी समुदायबीच हिंसात्मक झडप भइरहेको प्रहरीले जनाएको छ । हेला प्रान्तीय प्रशासक विलियम बान्डोले २४ जनाको मृत्यु भएको पुष्टी भइसकेको र घटनामा अरु व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने बताउनुभयो । घटनास्थल पुगेका प्रहरी र अरु सुरक्षा अधिकारीले पछिल्लो स्थितिको जानकारी गराउन बाँकी रहेकाले यसपटकको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताईएको छ ।

हालैमात्र नियुक्त हुनुभएका प्रधानमन्त्री जेम्स मारापेले थप सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिँदै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले घटनालाई आफ्नो जीवनकैे सबैभन्दा दुःखद् दिन भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू