अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

त्रिविका कर्मचारीमाथि कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

बिआरटीनेपाल २०७६ असार २५ गते ९:४९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही हुने स्पष्ट पार्नुभयो ।

त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसर पारेर आयोजित बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उहाँले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरूलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै मुलुकको आवश्यकता अनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयहरूलाई आग्रह गर्नुभयो ।

सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छविनै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई सचेत गराउनुभयो । उहाँले विश्वविद्यालयभित्र कल्पना समेत गर्न नसकिने खालका बेथिति भित्रिएको उल्लेख गर्दै दुःख पनि व्यक्त गर्नुभएको छ । बैठकमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाँले विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू