अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत १८ रनले पराजित

बिआरटीनेपाल २०७६ असार २५ गते ९:४४ मा प्रकाशित

भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको हो । म्यान्चेस्टरमा ४९ ओभर ३ बल खेलेको भारतले पूरै विकेट गुमाउँदै २२१ मात्र रन बनायो । भारतका लागि रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका रवीन्द्रले ४ चौका र ४ छक्काको सहयोगमा ७७ रनको योगदान गरे । ७२ बल खेलेका धोनीले १ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए ।

त्यस्तै भारतका रिशब पन्त र हार्दिक पाण्ड्याले समान ३२–३२ रन जोडे । भारतका ओपनर रोहित शर्मा, केएल राहुल र कप्तान बिराट कोहली १ रनमा पवेलियन फर्किएका थिए । बलिङतर्फ न्युजिल्यन्डका लागि म्याट हेनरीले सर्वा्धिक तीन विकेट लिए । त्यस्तै न्युजिल्यान्डका मिचेल स्यान्टनर र ट्रेन बोल्टले समान दुई–दुई विकेट लिए । न्युजिल्यान्डका लागि ल्युक फर्गुसन र जिम्मी निशमले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएपछि भारतले फाइनल पुग्न २ सय ४० रनको लक्ष्य पाएको थियो ।

४६ दशमलब १ ओभरमा ५ विकेटको क्षतिमा न्युजिल्याण्डले २ सय ११ रन बनाउँदा मंगलबार वर्षा भएपछि खेल बुधबारका लागि सारिएको थियो । म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा त्यहिँबाट सुरु भएको खेलमा न्युजिल्यान्डका लागि रोस टेयलरले ७४ रन बनाए । ९० बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरेका रोस रनआउट भएका थिए ।

१० रन बनाएका टोम लाथम भुवनेश्वर कुमारको बलमा रवीन्द्र जडेजामार्फत क्याच भए । म्याट हेनरीले १ रनमात्र जोड्न सके । उनी पनि भुवनेश्वरको बलमा कप्तान कोहलीमार्फत क्याच भए । मिचेल स्यान्टनरले ९ र टेन्ट बोल्टले ३ रन बनाए ।

यसअघि मंगलबार कप्तान केन विलियम्सनले अर्धशतक बनाएका थिए । ९५ बल सामना गरेका विलियम्सनले ६ चौकाको मद्धतमा ६७ रन बनाएका थिए । ओपनर मार्टिन गुप्टिल १ रनमा जसप्रित बुम्रराहको बलमा कप्तान बिराट कोहलीमार्फत क्याच भएपछि दबाबमा आएको न्युजिल्याण्डको इनिङस कप्तान विलियम्सनले केही उकासेका थिए ।

हेनरी निकोलस २८ रनमा पवेलियन फर्किँदा जेम्स निसम १२ रनमा आउट भए । ५१ बल खेलेका निकोलस २ चौका प्रहार गर्दै रवीन्द्र जडेजाबाट बोल्ड भए । निसम हार्दिक पाण्डेयको बलमा दिनेश कात्तिकमार्फत क्याच भए । कोलिन डिले १६ रनको योगदान दिए । १० बल खेल्र्दै २ चौका प्रहार गरेका कोलिन भुवनेश्वर कुमारको बलमा महेन्द्रसिँह धोनीबाट क्याच भए ।

भारतका भुवनेश्वर कुमारले सर्वाधिक तीन विकेट लिए । हार्दिक पाण्डेय, जसप्रित बुम्रराह,युजवेन्द्र चहाल र रबिन्द्र जडेजाले एक–एक विकेट लिए । न्युजिल्यान्डले अब फाइनलमा अष्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया