अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

पोखरा विश्वविद्यालयमा तालाबन्दी, पढाइबाहेक सबै प्रशानिक काम ठप्प

बिआरटीनेपाल २०७६ असार २४ गते ८:०५ मा प्रकाशित

पोखरा विश्वविद्यालयमा पुनः तालावन्दी गरिएको छ । परीक्षा छुटेका विद्यार्थीलाई मौका दिन माग गर्दै पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थीले तालाबन्दी हुन् । क्याम्पसका प्रशासन, लेखा लगायत शाखामा तालाबन्दी गरेका विद्यार्थीले माग पूरा नभए अझै कडा आन्दोलन गर्ने बताएका छन् ।

पब्लिक हेल्थको स्नातक तह (बिपिएच) पहिलो सेमेस्टरका केही विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो । ती झन्डै १ सय ६० विद्यार्थी र छुट भएका तेस्रो सेमेस्टरका विद्यार्थीलाई नियमित सरह नै परीक्षा दिन मौका चाहिने माग विद्यार्थीले गरेका छन् । विद्यार्थीको तालाबन्दीका कारण गत शुक्रबारदेखि केन्द्रीय क्याम्पसमा पठनपाठनबाहेकको सम्पूर्ण काम ठप्प छ ।

स्नातक तह व्यवस्थापन संकायमा भर्ना हुन न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने विधि मिचिएको भन्दै आन्दोलन भइरहँदा वैशाखको परीक्षामा बिपिएचका विद्यार्थी छुटेका थिए । छुटेका विद्यार्थीलाई मौका दिन मिल्ने नमिल्नेबारे छानबिन गर्न रजिस्ट्रार गोविन्द शर्माले बनाएको समितिले प्रतिवेदनसमेत दिइसकेको छ । तर उही सेमेस्टरमा २ पटक परीक्षा मौका दिने नदिनेबारे निर्णय गर्ने अधिकार प्राज्ञिक परिषदलाई हुन्छ । परिषदको प्रमुख विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मा हुनुहुन्छ । शर्मा भने विद्यार्थीले आन्दोलन गरिरहँदा पोखरामा हुनुहुन्न । विदेश भ्रमणमा जाने तयारी स्वरुप शर्मा काठमाडौं गएको विश्वविद्यालय स्रोतले बताएको छ । आउँदो असोजको पहिलो हप्ता पदावधि सकिने हुँदा उनी बिदामा बस्ने तयारीमा रहनुभएको छ ।

यसअघि, १२ कक्षा उत्तीर्ण हुँदा ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीलाई भर्ना गरेका कलेजमाथि कारबाही माग गर्दै गत वैशाखमा विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा थिए । आन्दोलनकै बीचमा प्रहरीसमेत परिचालित गरी विश्वविद्यालयले परीक्षा चलाएका थियो । केही विद्यार्थी आन्दोलनकै क्रममा बेहोस भएपछि केही बिद्यार्थीले परीक्षा दिन पाएका थिएनन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंका ४२ क्याम्पसले अवैधानिक रुपमा भर्ना गराएका ‘डी प्लस’ ३ सय ४४ विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न सर्वोच्चले आदेश दिएपछि उनीहरु परीक्षामा सामेल भएका थिए ।

विश्वविद्यालयको मापदण्ड विपरीत भर्ना गराएका क्याम्पसलाई कारबाही दायरामा ल्याउनुको साटो थप बल पुर्याउने काम भएको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघ लगायत विद्यार्थी संगठन आन्दोलनमा उत्रेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू