अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

प्रेस काउन्सिल बिधेयक संसोधनमार्फत सुधार्ने नेकपाको प्रतिवद्धता, आश्वासनपछि पत्रकार महासंघको आन्दोलन फिर्ता

बिआरटीनेपाल २०७६ असार २४ गते ७:५४ मा प्रकाशित

मिडिया काउन्सिल विधेयकमा असन्तुष्ट रहेको नेपाल पत्रकार महासंघको आन्दोलन फिर्ता भएको छ । नेपाल पत्रकार महासंघ र सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपाका महासचिव विष्णु पौडेल, सांसद योगेश भट्टराईलगायतका अधिकारीबीच मंगलवार सिंहदरबारमा भएको छलफलपछि पत्रकार महासंघले आन्दोलन फिर्ताको घोषणा गरेको हो ।

छलफलमा सहभागी नेकपाका सांसद योगेश भट्टराईले सरकारले ल्याएका मिडियासँग सम्बन्धित विधेयकमा आवश्यक सुधार गर्नुपर्ने विषय संशोधनमार्फत सुधार्ने सहमति भएको जानकारी दिनुभयो । आन्दोलनरत पत्रकार महासंघका पदाधिकारी विधेयकमा रहेका विषयलाई संशोधन र आपसी छलफलबाट सुधार गर्न सकिने कुरामा विश्वस्त भएपछि आन्दोलन फिर्ता भएको जनाईएको छ ।

नेकपा नेता भट्टराईका अनुसार सरकारले आगामी दिनमा मिडियासँग सम्बन्धित विधेयक ल्याउँदा पत्रकार महासंघ लगायतका सम्बन्धित पक्षसँग छलफल गर्नेछ । सो अवसरमा नेकपा राष्ट्रियसभामा मुख्य सचेतक खिमलाल भट्टराईले महासंघका अध्यक्ष गोविन्द आचार्यलाई ध्यानाकर्षण पत्र प्रदान गर्नुभएको थियो । त्यसपछि आचार्यले आन्दोलन फिर्ता भएको घोषणा गर्नुभएको हो । पत्रकार महासंघ मिडिया काउन्सिल विधेयकलगायतका संचार क्षेत्रसँग सम्बन्धित विधेयकको विरोधमा तेस्रो चरणको आन्दोलनमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू