अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

कुन्ता शर्मा र मातृका तिम्सिनालाई योगमाया सम्मान प्रदान

बिआरटीनेपाल २०७६ असार २३ गते १२:३५ मा प्रकाशित

नेपाल स्रष्टा समाजले मनायो योगमाया दिवस

काठमाडौँ, असार २२ गते । नेपाल स्रष्टा समाजले योगमाया दिवसको अवसरमा समाज सुधारक तथा स्रष्टा योगमायाका नाममा स्थापना गरिएका दुई वटा सम्मान वितरण गरेको छ ।  

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान कवि कुन्ता शर्मालाई प्रदान गरिएको छ । त्यस्तै योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान डा. मातृका तिम्सिनालाई प्रदान गरिएको हो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले डा. मातृका तिमल्सिनालाई योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान र विशिष्ट अतिथि वरिष्ठ समालोचक रमा शर्माले कवि कुन्ता शर्मालाई योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान प्रदान गर्नुभएको हो । दुवै सम्मानको राशि २५,१११ रुपैयाँ तथा सम्मान पत्र र दोसल्ला रहेको छ ।

नेपाल स्रष्टा समाजले योगमायाको नाममा सम्मान र पुरस्कारको स्थापना गरेर यस अभियानलाई संस्थागत गर्न उल्लेखनीय कार्य गरिरहेको बताउँदै प्रमुख अतिथि कुलपति श्री उप्रेतीले भन्नुभयो – पुरस्कारको क्षेत्रमा निजी क्षेत्रबाट भएको ठुलो प्रयासका लागि नेपाल स्रष्टा समाज धन्यवादको पात्र छ । राष्ट्रका गौरव र गहनाको खोजी र स्थापनामा पु¥याएको योगदानका लागि स्रष्टा समाज आँफै सम्मानित छ, गौरव गर्न लायक छ । उहाँले योगमायाका बारेमा वैज्ञानिक अनुसन्धान गर्न प्रज्ञा प्रतिष्ठानबाट पहल गर्ने पनि बताउनुभयो ।  

विशिष्ट अतिथि रमा शर्माले योगमायाजस्ती नारी पाएर नेपाल गौरवान्वित भएको बताउनुभयो । यस्ती नारीको नाममा स्थापना भएको पहिलो पुरस्कार पाएर आफूलाई पनि निकै गर्व महसुस भएको बताउँदै शर्माले भन्नुभयो ः यस्ता पुरस्कार र सम्मानले अझ केही गर्ने ऊर्जा मिल्छ । नेपाल स्रष्टा समाजले २०६५ सालमा पहिलो पटक योगमाया नारी स्रष्टा सम्मान श्री रमा शर्मालाई प्रदान गरेको थियो । हालसम्म एघारजनालाई यो सम्मान प्रदान गरिएको छ ।

सम्मानित स्रष्टा कवि कुन्ता शर्माले देशको परिस्थितिको ज्ञात भएर नै साहित्य र राजनीतिको माध्यमबाट समाज रूपान्तरणमा आफू लागेको स्मरण गर्दै यो प्रौैढतामा समाजले आफूलाई योगमायाको नाममा स्थापित सम्मान प्रदान गरेर अझै जोस बढाइदिएको पनि बताउनुभयो ।

अर्का सम्मानित स्रष्टा अनुसन्धाता डा. मातृका तिम्सिनाले आप्mनो जीवनकालकै पहिलो त्यो पनि योगमायाजस्ती नारीको नाममा स्थापित पुरस्कार पाउँदा गौरवान्वित भएको बताउनुभयो । योगमायाका विशेषता अझै धेरै रहेको र उनका बारेमा वैज्ञानिक शोध हुन बाँकी रहेकाले नेपाल प्रज्ञा प्रतिष्ठानबाट यसको पहल गरिदिन कुलपतिलाई आग्रह गर्नुभयो ।

योगमायाको आदर्शलाई निरन्तरता दिन समाज लागिरहने बताउँदै नेपाल स्रष्टा समाजमा अध्यक्ष विधान आचार्यले योगमायाका सर्वथा वाणी वाचन गर्नुभयो । उहाँले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण महानुभावहरूमा धन्यवाद र आभार व्यक्त गर्नुभयो । समाजका उपाध्यक्ष तथा योगमायाबारेका अर्को अनुसन्धानात्मक पुस्तक लेखक प्रा.डा. गोविन्दमानसिंह कार्कीले योगमायाका बारेका भएका भ्रमहरूको गहन अनुसन्धानबाट निरूपण हुनुपर्ने बताउनुभयो । कोषाध्यक्ष नवराज अवदोषीले सम्मानित स्रष्टाहरूको परिचय राख्नुभएको थियो भने सदस्य तर्कना शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यस अवसरमा नेपाल स्रष्टा समाजका विशिष्ट सदस्य रेखा कँडेलले संस्थालाई रू. २० हजार आर्थिक सहयोग प्रदान गर्नुभयो । त्यस्तै योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान कोषमा संस्थापक राजेश न्यौपानेले एक लाख ५० हजार थपेर अक्षयकोषको रकम तीन लाख पचास हजार पु¥याउनु भएको छ ।  

नेपाली साहित्यको विकास र विस्तारमा अनवरत लागेको यस संस्थाले यसै वर्षबाट विभिन्न क्षेत्र र वर्गबाट योगमायाका विषयमा खोज, अनुसन्धान तथा प्रचारप्रसारमा योगदान पुर्याएवापत् योगमाया सम्मान प्रदान गर्न सुरु गरेको छ । यस वर्ष यो सम्मानबाट चार जना व्यक्तिहरू सम्मानित हुनुभएको छ । जसमा स्व. डम्बरबहादुर बस्नेतलाई मरणोपरान्त यो सम्मान प्रदान गरिएको छ । त्यस्तै योगमायाको प्रचारप्रसारमा योगदान दिनुहुने चन्द्रबहादुर बस्नेत, लोकेन्द्रबहादुर बस्नेत र बारबरा तिम्री अजिजलाई पनि योगमाया सम्मान प्रदान गरिएको छ ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानको स्थापना समाजका संरक्षक तथा पूर्व अध्यक्ष पवन आलोकले गर्नुभएको हो । त्यस्तै योगमाया न्यौपानेले अभियन्ता राष्ट्रिय सम्मान राजेश न्यौपानेले स्थापना गर्नुभएको हो । यी बाहेक नेपाल स्रष्टा समाजले प्रत्येक वर्ष सुभद्रा विश्वराज स्रष्टा सम्मान, दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान तथा प्रसिद्ध कँडेल स्मृति युवा स्रष्टा सम्मान गरेर पाँच वटा सम्मान प्रदान गर्दछ । सबै सम्मानका लागि समाजमा करिब दश लाख अक्षयकोष जम्मा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू