अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडल किनबेच गर्नेबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिआरटीनेपाल २०७६ असार २३ गते ९:५९ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद(विक्रीमा संलग्न कर्मचारी रामबहादुर कर्माचार्य र विद्यार्थी सुरेन्द्र प्रसाद कोइरालासहित तीन जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । अख्तियारले मुद्दा लगाएका अर्का व्यक्ति बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगरका कायममुकायम प्रशासनिक अधिकृत केदार भट्टराई रहेका छन् ।

भक्तपुर बहुमुखी क्याम्पसका आंशिक शिक्षक कोइरालाले आफूलाई इकोनमिक्सको स्नातकोत्तर तहमा गोल्ड मेडल ल्याउने गरी अंक थपिदिन भन्दै १ लाख ५० हजार रुपैयाँ कर्माचार्यलाई दिएका थिए। कोइरालाले आफ्ना साथी भट्टराईलाई अंक थपेर पास गराइदिन भन्दै ३ लाख रूपैयाँ कर्माचार्यलाई दिएको अख्तियारले पुष्टि गरेको छ।

त्यसैले कर्माचार्य र कोइरालालाई ४ लाख ५० हजार घुस लिएको र भट्टराईलाई ३ लाख घुस दिएको भन्दै अख्तियारले मुद्दा लगाएको छ। कर्माचार्य र कोइरालाबाट ४ लाख ५० हजार रूपैयाँ जफत गर्न त्यति नै रुपैयाँ जरिमाना तिराउन अख्तियारले माग गरेको छ। दुवैलाई ६ महिनादेखि डेढ वर्षसम्मको कैद सजाय हुनुपर्ने अख्तियारको माग छ। त्यस्तै, भट्टराईबाट ३ लाख जफत गर्ने तीन लाख नै जरिमाना तिराउने र ६ देखि डेढ वर्षसम्म कैद सजाय गर्नुपर्ने अख्तियारको माग छ। कर्माचार्यले स्नातकोत्तर तहको इकोनमिक्स, ग्रामीण विकास र समाजशास्त्रका संकायका १५ वटा पेपरमा कोइरालालाई ३ देखि ५० नम्बरसम्म थपिदिएको अख्तियारले जनाएको छ। कोइरालालाई त परीक्षा नै नदिएको समाजशास्त्रमा समेत कर्माचार्यले नम्बर दिएको भेटिएको छ।

कोइरालाबाट १ लाख ५० हजार लिएर २ सय २४ अंकसम्म थपिदिएको तथ्य खुल्न आएको अख्तियारले दायर गरेको अभियोगमा उल्लेख छ। ‘यसरी कोइरालाले पैसा दिएर अंक थप्न लगाइ सन् २०१९ को दीक्षान्त हुँदा उनले गोल्डमेडल पाएको, ग्रामीण विकासमा प्रथम श्रेणी र समाजशास्त्रमा भने परीक्षानै नदिइ पास भएको देखिएको छ,’ अख्तियारको अभियोगपत्रमा उल्लेख छ। त्यस्तै कर्माचार्यले भट्टराईलाई स्नातकोत्तर तहको इकोनमिक्सका ५ वटा पेपरमा १०÷१० अंकका दरले नम्बर बढाइदिएर प्रथम श्रेणीमा पास गराइदिएको अख्तियारको अभियोग छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू