अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

ग्रीसमा मध्य दक्षिणपन्थी पार्टी सत्तामा फर्कियो, प्रधानमन्त्री सिप्रासद्धारा हार स्वीकार

बिआरटीनेपाल २०७६ असार २३ गते ९:५१ मा प्रकाशित

ग्रिसको मध्य दक्षिणपन्थी पार्टी पुनः सत्तामा फर्किएको छ । समयअगावै गरिएको आमनिर्वाचनमा मध्य–दक्षिणपन्थी दल न्यू डेमोक्रेसी दल विजयी हुँदै पुनः सत्तामा फर्किएको हो । न्यू डेमोक्रेसी पार्टीले अहिलेसम्म ३९ दशमलव ८ प्रतिशत मत हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको प्रधानमन्त्री एलेक्सिस सिप्रासको सिरिजा पार्टीले ३१ दशमलव ६ प्रतिशत मत मात्र प्राप्त गरेको छ ।

निर्वाचनमा न्यू डेमोक्र्यासी पार्टीले पूर्ण बहुमत ल्याएको छ । हालसम्म ८८ प्रतिशत मतगणना सकिँदा उसले संसद्मा १५८ सिट जितेको छ । त्यसैगरी प्रधानमन्त्री सिप्रासको पार्टी सिरिजाले ८६ सिट जितेको छ । अधिकांश स्थानको मतगणना भइसक्दा प्रधानमन्त्री एलेक्सिस सिप्रासले आफ्ना प्रतिद्वन्द्वी क्रियाकस मिट्शोटाकिससँग पराजित भएको स्वीकार गर्नुभएको छ ।

निर्वाचनमा विजयी भएसँगै राजधानी एथेन्समा समर्थकहरुलाई सम्बोधन गर्दै मिट्शोटाकिसले आफूलाई मुलुकको परिवर्तनका लागि नागरिकले जनादेश दिएको बताउनुभयो । उहाँले देशले फेरि एक पटक गर्वका साथ शीर उठाएको बताउनुभएको छ ।

मिट्शोटाकिसले स्पष्ट जित निकालेपछि बहालवाला प्रधानमन्त्री सिप्रासले पनि उहाँलाई बधाइ दिनुभएको छ । पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनादेश स्वीकार गर्दै आफूले हार स्वीकार गरेको बताउनुभयो । ग्रिसमा भएको आमनिर्वाचनमा करिब ५७ प्रतिशत मतदाता सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू