अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

गैरआवासीय नेपाली सङ्घ ७ औँ एसिया प्रशान्त क्षेत्रीय बैठक र दोस्रो महिला बैठकमा के के निर्णय भए ?

बिआरटीनेपाल २०७६ असार २२ गते १०:१८ मा प्रकाशित

यांगुन, म्यानमार । गैरआवासीय नेपाली सङ्घ ७औं एसिया प्रशान्त क्षेत्रीय बैठक एवं दोस्रो महिला बैठक सङ्घका क्षेत्रीय संयोजक किरण विक्रम थापाको सभापतित्व, म्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री महामहिम उ क्याउ तिनको प्रमुख आतिथ्यता, म्यानमारका लागि नेपाली राजदूत महामहिम भीम उदास, प्रतिनिधि सभाका सांसद मा. डा. सूर्य पाठक, पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतको विशेष आतिथ्यता, परराष्ट्र मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेल, सङ्घका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो पदाधिकारी सल्लाहकार एवं अभियान्ताहरुको समुपस्थितिमा आज ७ जुलाई २०१९ मा म्यानमारको यांगुनमा सम्पन्न भएको छ । बैठकमा २३ देशका करिब २५० जना गैरआवासीय नेपालीहरूको सहभागिता थियो । बैठकले निम्न निर्णयहरु गरेको छ । 

१. बैठकको प्रमुख अतिथ्यता एवम नेपाली डायस्पोराको भूमिकाको उच्च कदर सहितको सारगर्भिक सम्बोधनका लागि यो बैठक म्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री महामहिम उ क्याउ तिनमा हार्दिक कृतज्ञता प्रकट गर्दछ । बैठकको आयोजनामा ठुलो सहयोग पुर्‍याउनु भएकोमा म्यानमारका लागि नेपाली राजदूत महामहिम भीम उदास, श्रीमती रञ्जना उदास एवम नेपाली राजदूतावास परिवार प्रति यो बैठक हार्दिक आभार प्रकट गर्दछ । साथै बैठकमा पाल्नु भएका विशिष्ट अतिथिहरू प्रतिनिधि सभाका सांसद मा. डा. सूर्य पाठक, पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, परराष्ट्र मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेल लगायत समस्त अतिथिगतमा यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।

२. बैठकले नेपाली मूलका विदेशी नागरिकहरूलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय गर्दछ । साथै नेपालको कला, संस्कृति, भाषा, रहनसहन सहितको आफ्नो पहिचान कायम राख्न म्यानमारका नेपाली गोरखा समुदायको सफलताको यो बैठक उच्च सम्मान गर्दछ । यसबाट अरू देशमा रहेका नेपालीहरूले समेत धेरै सिक्न सक्ने सम्भावना रहेको यस बैठकको ठहर छ ।

३. मुलुकको विकासमा डायस्पोराको महत्त्वपूर्ण भूमिका रहने कुरालाई मनन गर्दै डायस्पोरालाई १ – २ पुस्तामा मात्र सीमित नगरी गैरआवासीय नेपालीको परिभाषा भित्र नेपालबाट विदेशमा आई बसोबास गरेका व्यक्तिका सन्ततिलाई समेट्न सक्ने गरी कानुनी व्यवस्था गर्न नेपाल सरकारलाई यो बैठक अनुरोध गर्दछ ।

४. नेपालको समृद्धिका लागि विदेशबाट सिकेको ज्ञान, सीप, आर्जित गरेको साधन श्रोत प्रयोग गर्ने वातावरण बनाउन निरन्तर प्रयास गर्ने प्रण यो बैठक गर्दछ । नेपालमा रु. १० अरबको कोष भएको सामूहिक लगानी कम्पनी सफल पार्न यो बैठक प्रतिबद्धता प्रकट गर्दछ । बैठकले नेपालको जल विद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानी प्रवर्धन गर्ने निर्णय गर्दछ । साथै नेपाललाई मेडिकल टुरिजमको केन्द्रका रूपमा विकास गर्नका लागि आवश्यक नीतिगत सुधार गर्न नेपाल सरकार समक्ष बैठक अनुरोध गर्दछ ।

५. गौतम बुद्धको जन्मस्थान लुम्बिनीप्रति म्यानमारी जनताको अगाध आस्थाको मनन गर्दै म्यानमार लुम्बिनी सिधा हवाई सम्पर्कको व्यवस्था गर्न दुवै सरकार एवं हवाई कम्पनीहरूमा यो बैठक आव्हान गर्दछ ।

६. आधा आकाश ओगटेको महिलाहरूको सशक्तीकरण बिना मुलुकको समृद्धि र गैरआवासीय नेपाली अभियानको सफलता सम्भव छैन । यो बैठक अभियानमा महिलाहरूको सहभागिता अभिवृद्धि गर्ने कार्यमा तत्परताका साथ लाग्ने प्रण गर्दछ ।

७. युवाहरू अभियानको वर्तमान र भविष्यका निर्धारण कर्ता हुन् । गैरआवासीय युवाहरूलाई नेपालको समृद्धि अभियानमा जोड्नु अति आवश्यक भएको यो बैठक महसुस गर्दछ । जुन सुकै मुलुकमा भए पनि नेपाली समुदायको व्यक्तिको सफलताले सम्पूर्ण नेपाल र नेपालीको मान सम्मान बढाउँदछ । युवाहरूलाई अभियानमा सामेल गराउनका लागि युवाको चासोका विषयहरू सङ्घका गतिविधिमा समावेश गर्न र सङ्घका आगामी सम्मेलन तथा बैठकहरूमा युवाका चासोका विषयहरू समावेश गर्ने यो बैठक निर्णय गर्दछ ।

८. नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डायस्पोराको भूमिका महत्त्वपूर्ण छ । संसारको पर्यटन बजारमा Visit of Friends and Relatives एक महत्त्वपूर्ण अंश हो । यो बैठक धेरै भन्दा धेरै गैरआवासीय नेपालीहरूलाई नेपाल भ्रमण गर्न र आफ्नो साथी र छिमेकीहरूलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्नको लागि आह्वान गर्दछ ।

९. विदेशमा गएका नेपालीहरू कुनै दुर्घटनामा परि फर्कनु पर्दा वा कुनै पनि कारणवश मृत्यु भएमा पार्थिव शरीर फर्काउनु पर्दा धेरै कठिनाइ आउने गरेका छन् । त्यस्तो अप्ठेरो अवस्थामा प्रयोग हुने गरी अनिवार्य बिमाको व्यवस्था गर्न यो बैठक सरकार समक्ष आह्वान गर्दछ ।

१०. डायस्पोरा नेपाली कूटनीतिको ठुलो संवाहक बन्न सक्तछ । नेपालको समृद्धिको लागि अब नेपालले डायस्पोरा कूटनीति अपनाउनु पर्ने धारणा यो बैठक व्यक्त गर्दछ ।

११. बैठकले आगामी एसिया प्रशान्त क्षेत्रीय बैठक चीनमा र त्यसपछिको बैठक कोरियामा गर्ने समेत निर्णय गरेको छ ।

१२. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न बैठकको आतिथ्यता गर्ने राष्ट्रिय समन्वय परिषद् म्यानमार प्रति आभार प्रकट गर्दछ । साथै सम्मेलन को सफलताका लागि खटिने सङ्घका सदस्य र नेपाली समुदायको यो बैठक सम्मान गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू