अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

अछामका महिलालाई सेनिटरी प्याड उत्पादन तालिम

जगत विष्ट २०७६ असार २२ गते १०:११ मा प्रकाशित

विनायक (अछाम) । अछामको पञ्च देवल विनायक नगरपालिकाका महिलाहरूलाई सेनिटरी प्याड उत्पादन तालिम सुरु भएको छ । पुनः प्रयोग गर्न मिल्ले गरी प्याड उत्पादन गर्ने तीन दिने तालिम आइतबारदेखि सुरु भएको हो । 

छाउपडी प्रथाबाट प्रभावित नगरका महिलाहरूलाई नौ वटा समूह बनाएर तामिल दिन लागिएको छ । यो तालिमले महिलाहरूलाई महिनावारी हुँदा सुरक्षित बनाउको साथै उद्दमशीलता समेत बनाउने छ ।

नगरपालिकाको आर्थिक सहयोग र संवाद डबलीको समन्वयमा सुरु भएको तालिममा महिलाहरूको उत्साहजनक सहभागिता रहेको छ । नगरपालिकाका ९ वटै वडामा एउटा–एउटा समूह बनाइएको छ । प्रत्येक समूहमा तीन–तीन जना महिला हुने संवाद डबलीका सचिव धनन्वय बुढाले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख देवराज देवकोटाले सहभागीले बढीभन्दा बढी मेहनत र क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । देवकोटाले विगतमा पनि यस्ता धेरै कार्यक्रमहरू हुँदै आएको भए पनि यो कार्यकारबाट क्षमताको विकास गरेर विशेष उपलब्धि हुनुपर्ने धारणा राखे । 

त्यसै गरी, नगर उप–प्रमुख अम्बिका चलाउनेले पहिले पनि विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा गरेको र यस पटक संवाद डबलीसँगको सहकार्यमा भएको तालिम पनि फलदायी हुने विश्वास लिएको बताइन् । २१ औँ शताब्दीमा पनि अन्धविश्वास तथा लाजको विषय बनाएर अव्यवस्थित महिनावारीबाट महिलाहरू पीडित हुनु दुःखित विषय भएको धारणा राखिन् । आफूले पनि विगतमा यस्तो समस्या भोगेको स्मरण गर्दै भनिन् “यही सामाजिक परिवेशको कारण मानसिक तथा शारीरिक ठुलो प्रताडन भोगेको थिएँ, तर अहिले यसमाथि म लगायत धेरैले विजय प्राप्त गरेका छौँ । अब देशबाटै छाउपडी समस्या उन्मुलन गर्नुपर्छ ।” चलाउनेले विगतका तालिमको उपलब्धिको कारण कयौँ महिला यस समस्याबाट मुक्त मात्रै नभएर प्याड व्यवसायबाट उद्यमशील पनि भइसकेको जानकारी दिइन् ।

संवाद डबलीका सचिव धनन्जय बुढाले सञ्चार माध्यम र सरोकारवाला पक्षको सहकार्यमा सामाजिक समस्याको समाधानको प्रयासले छिटो सफलता प्राप्त गर्ने धारणा राखे । सो तीन दिने तालिमकी प्रमुख प्रशिक्षक मिना विष्टले विगत लामो समयदेखि महिनावारी व्यवस्थापन तथा सामाजिक जनचेतनाको क्षेत्रमा काम गर्दै आएको अनुभवसहित सहभागी प्रशिक्षार्थीहरूलाई उद्यमशील बन्न आह्वान गरिन् । उनले छाउपडी समस्याको हल मात्र खोज्नेभन्दा यसैमाथि टेकेर उद्यमशील बन्न सकिने सम्भावना रहेको जानकारी दिइन् ।

कार्यक्रममा आठ नम्बर वडा अध्यक्ष ताराप्रसाद खनाल, नगरका प्रशासकीय अधिकृत लक्ष्मीकान्त बजगाईँ लगायतको उस्थिति रहेको थियो । समूहले उत्पादन गरेको प्याड वडाका महिलाहरूको साथै आसपासका क्षेत्रमा पनि बजारीकरण गर्नेछन् । जसले छाउपडी प्रथाविरुद्धको अभियानसँगै महिलाहरूलाई उद्यमशील समेत बनाउने छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू