अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

विप्लव समूहविरुद्ध योजनावद्ध रुपमा कारबाही गरिने – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ असार २२ गते ९:४७ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहविरुद्ध योजनावद्ध रुपमा कारबाही गर्ने बताउनु भएको छ । भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षकहरुको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले विप्लव समुहबाट सामाजिक सद्भाव र सुरक्षामा खलल र्पुयाउने काम हुन थालेको भन्दै योजनावद्ध रुपमा कारबाही गर्ने बताउनुभयो ।

गृहमन्त्री थापाले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा नेपाल प्रहरीलाई राज्य र आमनागरिकप्रति पूर्ण उत्तरदायित्व बहन गर्नेगरी सेवामुखी बनाउन, प्रहरी कर्मचारीको मनोबल उच्च राख्न, बृत्तिविकासका अवसरलाई तदारुकताका साथ कार्यान्वयन गर्न, प्रहरी सेवा नागरिक पहुँच र नागरिकमैत्री बनाउनका लागि गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनमा आइसकेको उल्लेख गर्नुभएको छ ।

राज्यको पुनःसंरचना र कानुनी रुपान्तरणका लागि राज्यले दिएको जिम्मेवारी मन, वचन र कर्मले सम्पादन गर्दै समाजका सिमान्तकृत वर्ग र समुदायलाई संरक्षण गर्न, अपराधबाट पीडितको संरक्षण र पिडकलाई कानुन बमोजिम दण्डित गर्नका लागि कटिवद्ध हुन प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीले कुनै कसर बाँकी नराखेको बताउनुभयो । कार्यक्रममा २१ महिलासहित ३ सय ५ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू