अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

गैरआवासीय नेपाली सङ्घको एसिया प्यासिफिक क्षेत्रीय बैठकको उद्घाटन सम्पन्न

बिआरटीनेपाल २०७६ असार २२ गते ९:५० मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घको सातौँ एसिया प्रशान्त क्षेत्रीय बैठक तथा दोस्रो महिला बैठकको म्यानमारको यान्गोनमा आज औपचारिक उद्घाटन भयो । नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीहरूको भूमिका विषयमा केन्द्रित रहने बैठकको म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिम, नेपालका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, सङ्घीय सांसदका माननीय सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदूत तथा सङ्घका संस्थापक महासचिव भीम उदास, सङ्घका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नु भयो । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै म्यानमारका मन्त्री टिनले म्यानमार र नेपाल विकासको चरणमा प्रवेश गर्दै गरेका मूलक भएकाले मिलेर काम गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताउनु भयो । नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन म्यानमार सरकारको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउँदै म्यानमारका जनता पनि विदेश जाने क्रम बढ्दै गरेको अवस्थामा गैरआवासीय नेपालीहरूको अभियानबाट धेरै कुरा सिक्न सकिने धारणा राख्नु भयो । 

सङ्घीय सांसदका सदस्य माननीय डा सूर्य पाठकले विशेष अतिथिका रूपमा सम्बोधन गर्दै गैरआवासीय नेपालीहरू नेपालको सम्पत्ति भएकाले अव यो समूह नेपालको विकासको साझेदार हुनुपर्ने बताउनु भयो । गैरआवासीय नेपालीहरूले तपाइहरूका विषयमा कसले के भने भन्ने तिर नलागी संविधानमा के लेखेको छ त्यसलाई हेरेर कार्यान्वयनको प्रतीक्षामा बस्न आग्रह गर्दै संविधानको भावना अनुसारका कानुनहरू बनाउन आफूहरू कटिबद्ध भएको विश्वास दिलाउनु भयो । 

त्यसै गरी अर्का विशेष अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले हामीले विदेशमा रहेका नेपाली वा नेपाली मूलका नेपालीहरूलाई नेपालमा अधिकतम अधिकार सहित नेपालसँगको सम्बन्धलाई जोडी राख्नु जरुरी भएको र त्यसले नेपाललाई नै फाइदा हुने हो भन्ने सबैले बुझ्नु जरुरी भएको धारणा राख्नु भयो ।

म्यानमारका लागि नेपाली राजदूत भीम उदासले म्यानमारमा नेपाली मूलका म्यानमारी नागरिकले नेपाली भाषा कला संस्कृतिको जसरी जगेर्ना गरिरहेका छन् त्यो उदाहरणीय रहेको उल्लेख गर्दै दुई देशका बिचमा धेरै समानताहरू भएकाले आपसमा सहकार्य गरेर काम गर्ने वातावरण निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।

सङ्घका अध्यक्ष भवन भट्टले उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लागि पर्ने बताउनु भयो । उहाँले नेपालको समृद्धिका लागि हामी सबै एकजुट हुनुको अव अर्को कुनै विकल्प नभएको पनि उल्लेख गर्नुभयो ।

त्यसै गरी संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा उपेन्द्र महतोले व्यक्तिगत सफलताले व्यक्ति धनी भए पनि राष्ट्र समृद्ध नभएसम्म त्यसको केही महत्त्व नहुने भएकाले नेपाल राष्ट्रको समृद्धि मात्रै हाम्रो लक्ष्य हुनुपर्ने बताउनु भयो ।

हलबाहिर रिबन काटेर र हलभित्र पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रमको सुरुवात म्यानमार र नेपालको राष्ट्रिय गान तथा सांस्कृतिक झलक प्रस्तुतिबाट गरिएको थियो । क्षेत्रीय संयोजक किरण विक्रम थापाले सभापतित्व गर्नु भएको उद्घाटन समारोहमा सङ्घका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिवि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायत अन्य पदाधिकारी एवं सदस्य र अभियन्ताहरू गरी करिब ३०० को सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सङ्घका एसिया प्यासिफिक उपसंयोजक पारसमणि पोख्रेल र गणेश मिश्रले संयुक्त रूपमा गर्नु भएको थियो । हिजोबाट सुरु भएको क्षेत्रीय बैठकको विभिन्न विषयगत सत्रहरूमा छलफल गरी आवश्यक निर्णय सहित आज जुलाई सातमा समापन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू