अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

पार्टी र सरकारको जथाभावी आलोचना गर्दै नहिंड्न प्रधानमन्त्री ओलीको नेता कार्यकर्तालाई निर्देशन

बिआरटीनेपाल २०७६ असार २१ गते ९:४१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारको जथाभावी आलोचना गर्दे नहिंड्न नेकपाका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले सहमतिका कुरा बाहिर नपोखी औपचारिक पार्टी बैठकमा राख्न निर्देशन दिनुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई आज बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न सुझाउनु भएको हो । उहाँले पार्टी नेतृत्व र सरकारको नेतृत्वको आलोचनाको बिषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताउनुभयो ।

एक फरक प्रसंगमा प्रधानमन्त्रीले आइफा अवार्ड नेपाललाई घाटा हुने गरी नहुने प्रष्ट पार्नुभयो । कतिपय देशहरुले आइफा अवार्डबाट पर्यटनको राम्रो विकास गरेको उल्लेख गर्दै उहाँले देशका लागि फाईदा हुने देखिए अवार्ड आयोजना गर्न कुनै समस्या नरहेको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले राखेका सुझाव, आलोचना तथा प्रस्तावहरुलाई सम्मानपूर्वक ग्रहण गरिएको बताउनुभएको छ । आजको बैठकमा २२ जना सांसदहरुले आफ्ना भनाइ राख्नु भएको थियो । दलको अर्को बैठकको मिति चाँडै तय हुने दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू