अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

एसीसी पुर्वी क्षेत्रीय क्रिकेट– नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, रितको शतक

बिआरटीनेपाल २०७६ असार २० गते ९:५९ मा प्रकाशित

नेपाल समूह विजेता बन्दै मलेसियामा जारी १९ वर्षमुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो ।

किन्रारा ओभलमा नेपालले दिएको ३२७ रनको फराकिलो चुनौती पछ्याउनेक्रममा सिंगापुर ३९ ओभर २ बलमा ‘अलआउट’ हुँदै १०९ रनमा समेटियो । सिंगापुरका हरि कुकरेजाले सर्वा्धिक ३० रन जोडेको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा नेपालका कुशल मल्लले ४, तिलकराज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले समान १–१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । रित गौतमले १३७ बलमा अविजित रहँदै ११५ रन बनाउन सफल भए । खडक बोहोराले ९० बलमा ९० रन, कुशल मल्लले २३ बलमा अविजित रहँदै ५१ तथा पवन सर्राफले ४१ बलमा ४५ रन जोडे । रित ‘म्यान अफ दी म्याच’ घोषित भए ।

समूह ‘ए’को विजेता नेपालले अब समूह ‘बी’को उपविजेतासित प्रतिस्पर्धा गर्नेछ । चीनलाई हराएको सिंगापुरले समूह ‘बी’को विजेतासित खेल्नेछ । चीन दुवै खेल हारेर बाहिरिएको छ । शुक्रबारै भएको अर्को खेलमा हङकङले भुटानलाई १७० रनले हराएको छ ।

प्रतिक्रिया