अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

४७ स्थानमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको आग्रह

बिआरटीनेपाल २०७६ असार १९ गते ९:५४ मा प्रकाशित

निर्वाचन आयोगले रिक्त रहेका ४७ स्थानमा उपनिर्वाचनका लागि गृहकार्य सुरू गरेको छ । ०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमध्ये हाल ४७ स्थान रिक्त छन् । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १ र नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष ३८ गरी कूल ४७ पदहरू हालसम्म रिक्त छन् ।

रिक्त रहेका स्थानमा मतदाता नामावलीमा नाम लेखाउन योग्यता पुगेका तर नाम नभएकाहरुलाई मतदाता नामावलीमा नाम लेखाउन आयोगले आग्रह गरेको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिनुभयो । “निर्वाचनमा भाग लिन मतदाता नामावलीमा नाम रहनु अनिवार्य हुने भएकोले नाम दर्ता गराउन छुट भएका योग्य नागरिकले नागरिकताको प्रमाणपत्र सहित आप्mनो स्थायी ठेगाना रहेको जिल्लास्थित जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र मतदाता दर्ता कार्य सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयमध्ये आफुलाई पायक पर्ने कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउनु हुन जानकारी गराइन्छ,” आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममा यसै आवमा उपनिर्वाचनका कामहरू सम्पन्न गरिनेछ भनी उल्लेख छ । प्रचलित कानुन बमोजिम उपनिर्वाचन गर्न आयोगले आवश्यक आन्तरिक तयारीको कार्य गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू