अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

‘संविधान प्रतिकूल हुने गरी आएकाले सामाजिक सञ्जालसम्बन्धि सबै प्रावधान खारेज गर्नुपर्छ’– काँग्रेस नेता सिंह

बिआरटीनेपाल २०७६ असार १८ गते ९:४१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बहादुरसिंह लामाले सरकारले ल्याएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश गरिएका सामाजिक सञ्जालसम्बन्धि सबै प्रावधान खारेज गर्न माग गर्नुभएको छ । बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले संविधान प्रतिकूल हुने गरी आएको सामाजिक सञ्जालसम्बन्धि सबै प्रावधान खारेज गर्न सरकारसँग माग गर्नुभएको हो ।

समितिको बैठकमा सांसद लामाले सामाजिक सञ्जालमार्फत् अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने गरी आएको सो विधेयक मान्य नहुने चेतावनी दिँदै फरक मत पनि पेश गर्नुभयो । संविधानको विरुद्धमा हुने गरी सामाजिक सञ्जाल फेसबुक लगायतमाथि प्रतिबन्ध लगाउने गरी आएको सो विधेयकमा सहमति जनाउन नसकिने भएकाले समितिमा आफूले फरक मत पेश गर्नु परेको सांसद लामाको भनाई छ ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भने सामाजिक संजालको दुरुपयोग हुने गरेको उल्लेख गर्दै त्यसलाई सरकारले नियन्त्रण गरेर जान उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले आफूलाई नसोधी रतन्धो रोगी भएको समाचार सम्प्रेषण गरेको उल्लेख गर्दै यस ढंगले गलत समाचार सम्प्रेषण गर्नेहरुलाई नियन्त्रण गर्न सरकारले कानुन बनाउन आवश्यक रहेको पनि स्पष्ट पार्नुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले सामाजिक सञ्जालको दुरुपयोग हुने क्रममा बढेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको पनि ठहर गर्नुभयो । बैठकमा समितिका सदस्यहरुले विवादमा तानिएको सो विधेयक व्यापक परामर्श गरेर मात्रै पारित गर्नुपर्ने धारणा पनि राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू