अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेकपा नेतृत्वलाई सांसद्हरुको सुझाव

बिआरटीनेपाल २०७६ असार १६ गते १०:०४ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।सोमबार संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बसेको नेकपा संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले अहिलेकै गति र मतिले समृद्धिमा पुग्न नसकिने भन्दै राष्ट्रिय नीति नै बनाउन सुझाव दिएका हुन् ।

आफूहरुलाई जिम्मेवारी नदिएका कारण सरकारका काम–कारबाही जनतासम्म पुग्न नसकेको गुनासो गर्दै सांसदहरुले बजेट विनियोजन निष्पक्ष र समानुपातिक नभएको भन्दै आलोचना गरेका थिए । उनीहरुले मन्त्री र शक्तिशाली सांसदहरुको क्षेत्रमामात्रै बजेट विनियोजन गरेको गुनासोसमेत गरेका छन् ।बैठकमा सहभागी केही सांसदहरुले भने पार्टी सन्चालनको अहिलेको प्रक्रिया नै उचित नभएको भन्दै पार्टी र सरकारलाई प्रभावकारी बनाउन सन्चालन पद्धति परिवर्तन गर्न आग्रह गरे ।

बैठकको सुरुमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकका एजेन्डाबारे जानकारी गराउनुभएको थियो । त्यसपछि सांसदहरुले प्रधानमन्त्री ओलीले प्रस्तुत् गरेका एजेन्डामाथि टिप्पणी गर्न थालेका हुन् । सरकारका निर्णयहरु, संसदमा दर्ता भएका विधेयकहरु, पार्टी सन्चालन पद्धतिलगायतका विषयमा सांसदहरुका फरक–फरक धारणा आउन थालेपछि एकरुपता ल्याउन भन्दै बैठक बोलाइएको हो ।

यसअघि बसेका संसदीय दलको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्देशनमात्र दिने तर आफूहरुले धारणा राख्न नपाएको भन्दै सांसदहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू