अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

अमेरिकी राज्य नेब्रास्कामा तेस्रो ठूलो भाषा नेपाली

बिआरटीनेपाल २०७६ असार १६ गते ९:५८ मा प्रकाशित

अमेरिकाको नेब्रास्का राज्यमा अमेरिकाका अंग्रेजी र स्पेनिश वाहेक बोलिने अन्य भाषाहरुमा नेपाली तेश्रो भाषा बनेको छ । अमेरिकामा ५० राज्य छन् जहाँ मानिसहरु सयौंथरी भाषा बोल्छन् । अमेरिकी जनसंख्या विभागको अध्ययनअनुसार राजधानी वासिङटन डिसीसहित सबै राज्यमा सबभन्दा धेरै बोलिने भाषा अंग्रेजी र स्पेनिश हो । विभागले प्रत्येक राज्यमा तेस्रो नम्बरमा कुन भाषा बोलिन्छ भनेर पनि अध्ययन गरेको छ ।

यो अध्ययनले एउटा राज्यमा अंग्रेजी र स्पेनिशबाहेक नेपाली भाषा धेरै बोलिने देखाएको छ । र, यो राज्य हो नेब्रास्का । अमेरिकाको मध्यपश्चिममा पर्ने नेब्रास्काको कुल जनसंख्या करिब २ करोड छ । बिजनेस इनसाइडर अखबारका अनुसार यो जनसंख्याले बोल्ने भाषामा अंग्रेजी र स्पेनिशपछि नेपाली तेस्रो स्थानमा आउँछ ।

अमेरिका भर करिब २ लाखभन्दा बढी नेपाली रहेको तथ्यांक छ । न्यूयोर्कमा सबभन्दा बढी नेपाली रहेका छन् । सानो राज्य नेब्रास्काको नेपाली जनसंख्या ठ्याक्कै यति भन्ने यकिन नभए पनि त्यहाँ बोलिने भाषाको तथ्यांक हेर्दा धेरै रहेको प्रष्ट हुन्छ । अमेरिकी जनसंख्या विभागले यो आँकडा राज्यका कुल जनसंख्याले बोल्ने भाषाको तथ्यांकअनुसार निकालेको हो । नेब्रास्कामा बस्ने नेपालीहरू न्यूयोर्कको तुलनामा कम भए पनि नेब्रास्काको कुल जनसंख्याले बोल्ने भाषामा नेपाली हावी छ ।

अमेरिकामा सबभन्दा धेरै राज्यमा हावी भएको तेस्रो भाषा भने जर्मन हो । ९ राज्यमा अंग्रेजी र स्पेनिशपछिको भाषा जर्मन बोलिन्छ । र, यो संख्या ९ लाखभन्दा बढी रहेको अनुमान अमेरिकी जनसंख्या विभागको छ । इडाहो, मोनटाना, नर्थ डाकोटा, वोमिङ, कोलोराडो, ओइहो, इन्डियाना, केन्टकी र साउद क्यारोलिना यी राज्य हुन ्।

फ्रेन्च भाषा लुजियाना, नर्थ क्यारोलिना, मेरिल्यान्ड, मेनी, भर्मोन्ट र न्यु ह्याम्पसायर गरी ६ राज्यमा प्रमुख छ । तर, पूरा अमेरिकामै हेर्ने हो भने फ्रेन्च भाषीको संख्या जर्मनभन्दा झन्डै ३ लाख बढी छ । त्यस्तै भियतनामी भाषा पनि टेक्सास, ओक्लाहोमा, ओरेगन, कान्सास, इओवा, मिसिसिप्पी गरी ६ राज्यमा हावी छ। भियतनामी बोल्नेको देशव्यापी संख्या १५ लाखभन्दा बढी भएको अनुमान छ । सन् १९७५ मा अमेरिकाले भियताममा युद्ध छेडेपछि मान्छेहरू अमेरिका छिर्ने क्रम बढेको र आजसम्म जारी रहेको बिजनेस इनसाइडरले जनाएको छ ।

यसपछि चिनियाँ भाषाले न्यूयोर्क, वासिङटन, अर्कान्सास , मिसोरी, उटा गरी ५ राज्यमा पकड जमाएको छ। देशभर चिनियाँ बोल्नेको संख्या २१ लाखभन्दा बढी छ। त्यस्तै पोर्चुगिज, कोरियन, अरबी तीनरतीन वटा राज्यमा अंग्रेजी र स्पेनिशपछि बोलिने प्रमुख भाषा बनेका छन्। दुई राज्यमा हावी भएकाहरू नभजो (अमेरिकी आदीवासीहरूको भाषामध्येको दोस्रो ठूलो भाषा), हाइटियन क्रयोल (हाइटी मूलका अमेरिकीहरूको भाषा), फिलिपिनीहरूले बोल्ने टागालोग भाषा छ।

पोलिस (पोल्यान्ड), पेन्सिलभेनिया डच, ह्मोङ (दक्षिणी चीन, लावोस् र भियतनामका भूभागबाट आएकाले बोल्ने), इलोकानी (उत्तरी फिलिपिन्स) र सोमालियन भाषा एकरएक राज्यमा हावी छन्। साउथ डाकोटामा डाकोटा, लाकोटा, नाकोटा र सियक्स जस्ता स्थानीय भाषा धरै बोलिन्छ । न्यूजर्सीमा अंग्रेजी र स्पेनिशपछि सबभन्दा धेरै बोलिने भाषा गुजराती हो। भारतीय राज्य गुजरातको यो भाषा अमेरिकाभर ४ लाखभन्दा बढीले बोल्ने अनुमान छ।

प्रतिक्रिया