अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

सर्लाहीमा प्रहरीको गोली लागेर फेरि अर्का युवकको मृत्यु

बिआरटीनेपाल २०७६ असार १५ गते ९:३१ मा प्रकाशित

सर्लाहीमा प्रहरीको गोली लागेर आइतबार एक युवकको मृत्यु भएको छ । केही साता अघि प्रहरीकै गोली लागेर सर्लाहीमा विप्लव नेतृत्वको जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो ।

सर्लाहीको बाँके जंगलमा आइतबार प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको हो । प्रहरीले चलाएको गोली लागेर ईश्वरपुर नगरपालिका–१३, गौरीशंकरका २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु भएको हो ।

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका थिए । बालकको मृत्युपछि स्थानीयवासीले आज दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके चोकमा शव ल्याएर प्रदर्शन गरेका थिए ।

त्यस क्रममा प्रहरीले राजमार्ग खुलाउने क्रममा दोहोरो झडप भएको हो । टाउकोमा गोली लागेका देवन महतोको घटनास्थलमै मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् । घटनामा अर्का एक जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा १३ जना प्रहरी घाइते भएको जनाइएको छ ।

सशस्त्र प्रहरीतर्फ पनि केही सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले १४ सेल अश्रु ग्यास र दुई दर्जन हवाई फायर गरेको थियो । सशस्त्र प्रहरीले पनि हवाई फायर गरेको थियो । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले सडक खुलाउन खोज्दा प्रदर्शनकारीबाट प्रहरीमाथि आक्रमण भएको दाबी गरेका छन् । घटनास्थलको अवस्था अहिले सामान्य छ । प्रहरीको गोली लागेर मृत्यु भएका देवन महतो र डुबेर मृत्यु भएका अमित राय दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू