अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

कोरियाली गैरसैनिक सीमा क्षेत्रमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता

बिआरटीनेपाल २०७६ असार १५ गते ९:२० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ । दुई नेतावीच दक्षिण र उत्तर कोरियाको गैरसैनिक सीमा क्षेत्रमा भेटवार्ता भएको हो । उत्तर कोरियाली नेतालाई सीमाक्षेत्रमा भेट गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुनुहुन्छ ।

आइतबार दिउँसो दक्षिण कोरियाली समकक्षी मुन जाइ इनसँगै राष्ट्रपति ट्रम्प उत्तर र दक्षिण कोरियाको सैनिकरहित क्षेत्रमा पुग्नुभएको हो । ट्रम्पलाई भेट्न किम प्योङयाङदेखि गैरसैनिक सीमा क्षेत्रमा आउनुभएको थियो । दुबै नेताले सैनिकरहित क्षेत्रमा हात मिलाउनुभएको थियो । त्यसपछि ट्रम्प र किम उत्तर कोरियाको सीमाभित्र जानुभएको थियो ।

यसअघि पदमा रहँदा कुनै पनि राष्ट्रपति उत्तर कोरियाको सीमाभित्र पुगेका थिएनन्। भेटघाटपछि दुबै नेता संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । पत्रकार सम्मेलनमा ट्रम्पले कोरियाली सीमाक्षेत्रमा भएको भेटघाट ऐतिहासिक घटना भएको टिप्पणी गर्नुभयो । यसअघि अवरुद्ध भएको वार्तालाई सूचारु बनाउन यो भेटले मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू