अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

आइफा अवार्डमा नेपालको राज्यकोषबाट १ रुपैयाँ पनि खर्च नहुने आयोजकको दाबी

बिआरटीनेपाल २०७६ असार १५ गते ९:१८ मा प्रकाशित

नेपालमा हुने भनिएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी ‘आइफा’ अवार्डको लागि नेपालको राज्यकोषबाट खर्च नहुने आयोजकले बताएको छ । यो कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिकासँगै होटल एसोसियसन्स नेपाल (हान), नेपाल उद्योग परिसंघ नेपाल, उद्योग वाणिज्य महासंघ नेपाल र चलचित्र विकास बोर्डको सहयोगमा कार्यक्रम हुने आयोजकले स्पष्ट पारेको हो ।

नेपाल पर्यटन बोर्डमा आइतबार दिउँसो भएको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले सहकार्यमा एयरलाइन्स कम्पनी पनि सहभागी हुन सक्ने सम्भावना रहेको बताउनुभयो । कार्यक्रमको लागि एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिए पनि हालसम्म नेपालले ४४ करोड रुपैयाँ खर्च गर्नुपर्ने अनुमान गरिएको छ । राज्यले कार्यक्रमको लागि १ अर्ब खर्च गर्दैछ भन्ने हल्लाको पछि नलाग्न जोशीले आग्रह गर्नुभयो ।

आइफा अवार्डले नेपालको पर्यटन बिकासमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै विश्वभर नेपालको प्रचार हने भएकोले कार्यक्रमको बिरोध नगर्न आयोजकले अनुरोध गरेका हुन् । बोर्डका कार्यकारी निर्देशक जोशीले भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा रहेको बेला विश्वभर हेरिने आइफा अवार्डले भारतीय कार्यक्रमको मात्र नभई नेपाल र काठमाडौँको पनि प्रचार हुने दावी गर्नुभयो ।

विभिन्न देशमा आयोजना हुँदै आएको आइफा अवार्ड सन् २००० बाट सुरु भएको हो। नेपालमा हुन लागेको २० औँ आइफा अवार्डका लागि ६ सय पाहुना नेपाल आउने अनुमान गरिएको छ। कार्यक्रममा सहभागी हुन आउने पाहुनाको खाने, बस्ने र यातायात लगायतका सम्पूर्ण खर्च नेपालले नै व्यवस्था गर्नुपर्ने छ ।

प्रतिक्रिया