अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी बिच जापानमा भेटवार्ता

बिआरटीनेपाल २०७६ असार १४ गते ०:११ मा प्रकाशित

पछिल्लो समय एक अर्काका सामानमाथि कर बढाएर व्यापार युद्धको अवस्थामा रहेका अमेरिका र चीनका राष्ट्रपतिबिच जापानमा भेटवार्ता भएको छ । जी–ट्वेन्टी सम्मेलनका लागि जापानको ओसाका पुग्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच साइडलाइन वार्ता भएको हो । वार्तामा दुई देशबिचको सम्बन्धलाई मजबुद बनाउने विषयमा छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सो भेटको क्रममा चिनियाँ राष्ट्रपति सीले सन् १९७१ मा ३१ विश्व टेबल टेनिस च्याम्पियनसिप प्रतियोगिताको क्रममा पहिलो पटक अमेरिकी र चिनियाँ खेलाडी आमनेसामने भएर सुरु भएको दुई देशबिचमो ‘पिङ–पोङ कूटनीति’ स्मरण गरेको जनाइएको छ । त्यसको ८ वर्षपछि सन् १९७९ मा अमेरिका र चीनबिच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो ।

विभिन्न घटना–परिघटना भए पनि पछिल्लो ४० वर्षदेखि अमेरिका र चीनबिचको सम्बन्धको आधार उस्तै रहेको सीले बताएको सिन्ह्वाले उल्लेख गरेको छ । सहकार्य र वार्ता नै सम्बन्धको आधार रहेकोमा दुवै नेताले जोड दिएको बताइएको छ । तर अहिले दुवै देश विभाजन र आरोप–प्रत्यारोपको अवस्थामा छन् । वार्ताको क्रममा दुई देशबिचको वार्तालाई पुनः अघि बढाउने सहमति बनेको जनाइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमाथि नयाँ कर नलगाउने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू