अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

सरकारले ’राष्ट्रिय श्रम तथा रोजगार’ सम्मेलन गर्ने

बिआरटीनेपाल २०७६ असार १३ गते ९:५३ मा प्रकाशित

सरकारले यही असार १५ र १६ गते ‘राष्ट्रिय श्रम तथा रोजगार’ सम्मेलन आयोजना गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो। मुलुकमा रोजगारीको समस्या समाधान गर्ने गरी सरोकारवाला व्यक्ति, निकाय र विज्ञहरुसँग पर्याप्त छलफल गर्ने उद्देश्यका साथ दुई दिने सो सम्मेलन आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिनुभयो ।

सम्मेलनमा रोजगारीको अवसर सृजना गर्ने क्षेत्रको पहिचान पनि गर्ने गरी कार्यपत्र प्रस्तुत गरिनेछ। प्रस्तुत कार्यपत्रको आधारमा सरकारले युवा वेरोजगारी समस्या समाधानका लागि आवश्यक नीति, कानुन र कार्यक्रम तय गर्ने पनि मन्त्री विष्टले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा सम्बन्धित क्षेत्रका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो सम्मेलनमा नेपाली श्रम बजारको अवस्था र आयको स्थिति, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचना प्रविधि, रोजगारीका लागि सीप विकासलगायतका क्षेत्रमा विस्तृत छलफल गर्नेगरी कार्यपत्र प्रस्तुत गर्ने एजेन्डा पनि तय गरिएको जनाएको छ।

प्रतिक्रिया