अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

पोखरा महानगरपालिका गेटमा लागेको ताला खुल्यो, बिनियोजित बजेटमा हेरफेर गर्ने सहमति

बिआरटीनेपाल २०७६ असार १३ गते ९:४० मा प्रकाशित

पोखरा महानगरपालिका गेटमा लगाईएको ताला खुलेको छ । महानगरपालिकाका प्रमुख मान बं जिसीले बिनियोजित बजेटमा हेरफेर गर्ने सहमति जनाएसंगै बजेटप्रति असन्तुष्ट कांग्रेस निकट ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले आन्दोलन फिर्ता लिएका हुन् ।

मेयर मानबहादुर जिसी र आन्दोलनरत कांग्रेस वडाध्यक्षहरुबीच शुक्रबार भएको छलफलमा मेयर जिसीले मागको प्राथमिकता हेरेर योजना समेट्ने बताएपछि सहमति जुटेको बताइएको छ । रातो किताब सच्याउन गरेको मागप्रति भने मेयरले हुबहु सबै सच्याउन नसकिने प्रष्ट पार्नुभएको छ । महानगरको पाँचौँ नगरसभाबाट गत बुधबार पारित आगामी आर्थिक बर्ष २०७६ र ०७७ को बजेटमा कांग्रेस निकटका वडाध्यक्षसहित ४८ जनप्रतिनिधिले बिहीबार महानगर कार्यालयको मुलगेटमा ताला लगाई धर्नामा बसेका थिए ।

यसअघि पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई महानगरको गेटमा लगाएको ताला खोल्न आग्रह गर्नुभएको थियो । शुक्रबार महानगरमै पत्रकार सम्मेलन गरेर प्रमुख जिसीले आन्दोलनरत वडाअध्यक्षहरुलाई छलफलमा आउन आव्हान गर्दै महानगरको मुल गेटमा लगाएको ताला खोल्न आग्रह गर्नुभएको थियो ।

पोखरा महानगरले ७ अर्ब ५४ लाखको बजेट ल्याएको छ । बजेट माथी छलफल नै नगरी एकलौटी ढंगबाट मेयरले पारित गरेको कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुले आरोप लगाउँदै आएका थिए । आयोजित पत्रकार सम्मेलनमा मेयर जिसीले प्राथमिकताको आधारमा वडाहरुमा बजेट विनियोजन भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू