अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

एनआरएनए सातौँ एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेलाको तयारी तीव्र

बिआरटीनेपाल २०७६ असार ११ गते १०:०१ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सातौँ एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेला आगामी जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुँदैछ । बैठकको तयारी तीव्र गतिमा अघि बढी रहेको एसिया प्यासिफिक क्षेक्रका आरसी किरण विक्रम थापाले जानकारी दिनुभयो । विशेषतः एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरूको सहभागितामा नेपालमा लगानी प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ बैठक आह्वान गरिएको हो ।

यसपटकको बैठक ‘नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका’ भन्ने विषयमा केन्द्रित हुने थापाले बताउनुभयो । यस्तै बैठकमा ठूल–ठुला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाबारे विशेष छलफल गरिनेछ ।

यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिने थापाले जानकारी दिनुभयो । यसै गरी विगतमा गरिएका निर्णय र प्रतिबद्धतालाई हामीले कति पूरा गर्न सक्याौ या सकेनौ भन्ने समीक्षा समेत बैठकमार्फत गरिने छ । नेपालको समृद्धिमा डायस्पोराको भूमिका कृषि, पर्यटन, एसिया प्यासिफिक क्षेत्रमा नेपालीहरूको लागि श्रम बजार, त्यहाँका युवा तथा महिलाको सशक्तीकरण लगायत विषयमा पनि घनीभूत छलफल हुने थापाले बताउनुभयो ।

बैठकमा म्यानमार सहित थाइल्याण्ड, चीन, हङकङ, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिङ्गापुर र साउथ कोरिया सहितका एसिया प्यासिफिक क्षेत्रका सदस्य राष्ट्र लगायत अन्य राष्ट्रका पदाधिकारीहरूको समेत सहभागिता रहनेछ । साथै संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, वर्तमान अध्यक्ष सहितका अधिकांश पदाधिकारी, नेपाल सरकारका तर्फबाट विशिष्ट पाहुना एवं प्रतिनिधिहरू, नेपाल उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, साथै अन्य व्यावसायिक विशिष्ट व्यक्तित्व, म्यानमारका महामहिम, नेपाली समुदाय सञ्चारकर्मी लगायत आइसीसी र विभिन्न एनसीसीका प्रतिनिधिसहित करिब पाँच सय जनाको सहभागिता रहने आरसी थापाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू