अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

अमेरिकी बन्दीगृहमा बालबालिकाको अवस्था नाजुक

बिआरटीनेपाल २०७६ असार ११ गते ९:३८ मा प्रकाशित

अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरुका बालबालिकालाई राखिएको बन्दी केन्द्रको अवस्था निकै नाजुक रहेको खुलासा भएको छ । अमेरिकाको टेक्ससस्थित सिमाना नजिकको एउटा बन्दी केन्द्रबाट झन्डै १०० आप्रवासी बालबालिकाहरू अन्यत्र सारिएपछि यस्तो खुलासा भएको हो ।

अनुगमनका लागि पुगेका कानुन व्यवसायीहरूले बन्दीगृहमा खाना र औषधी अभाव लगायत त्यहाँको कमजोर अवस्थाको बारेमा सार्वजनिक गरेका थिए । अवस्था निकै नाजुक भए पनि बालबालिकाहरूलाई त्यहाँ थुप्रै साता राखिएको बताइएको छ । सीमानामा रहेका त्यस्ता बन्दीगृहमा गत वर्ष यता ६ जना बालबालिकाले ज्यान गुमाएका छन् ।

अनुगमनमा गएका एक कानुन व्यवसायीले बिबिसीलाई बताए अनुसार बालबालिकाहरू थुनिएको कोठाको बिचमा खुला शौचालय रहेको र उनीहरु त्यही खाने र सुत्ने गर्दथे । बन्दी केन्द्रमा बालबालिकाको ख्याल गर्ने कोही नरहेको र त्यहाँ किराहरुको प्रकोपसमेत देखिएको थियो । अमेरिकी सीमा काट्ने धेरैजसो मध्य अमेरिकी अभिभावकहरूलाई सन् २०१८ मा उनीहरूका बालबालिकाबाट छुट्ट्याइएको थियो ।

आप्रवासी सम्बन्धी राष्ट्रपति डोनल्ड ट्रम्पको शून्य सहनशीलता नीतिका कारण त्यतिखेर झन्डै ३ हजार बालबालिकाहरू अभिभावकबाट अलग्याइएका थिए । आप्रवासी बालबालिकाहरू राखिने केही बन्दीगृहहरूको अवस्थाका कारण खडा भएको आलोचनात्मक अवस्थाबीच अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका प्रमुखले पदबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू