अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

टर्कीका पूर्वप्रधानमन्त्री इस्तानबुलको मेयरमा पराजित

बिआरटीनेपाल २०७६ असार ९ गते १०:२४ मा प्रकाशित

इस्तानबुलको मेयरका लागि भएको चुनावमा टर्कीका पूर्व प्रधानमन्त्री बिनाली इल्ड्रिम पराजित हुनुभएको छ । सत्तारुढ ए.के. पार्टीका उम्मेदवार इल्ड्रिम विपक्षी सी.एच.पीका उम्मेदवार इर्केम इमामोग्लुसँग पराजित हुनुभएको छ । इस्तानबुल शहरको मेयर भावी राष्ट्रपतिको प्रबल दाबेदार बन्छ ।

इल्ड्रिमले ४५ प्रतिशत मत हासिल गर्दा विजयी उम्मेदवार इमामोग्लुले ५४ प्रतिशत मत हासिल गरेका छन् । यसअघिको चुनावमा पनि इमामोग्लु विजयी भएपनि धाँधलीको भएको भन्दै अदालतले पुनः चुनाव गर्न आदेश दिएको थियो । पुनः चुनाव हुँदा इमामोग्लुले यसअघि हासिल गरेको मतभन्दा बढी मत ल्याउनुभयो ।

चुनावी नतिजाले टर्कीका राष्ट्रपति रिकेप टाइप इरडोगेनलाई राजनीतिक धक्का पुगेको छ । टर्कीको राजनीतिमा एकछत्र राज गरेका उहाँले गृहक्षेत्र इस्तानबुलमा पकड गुमाउनुभएको छ । इरडोगेन सन् १९९४ देखि १९९८ मा इस्तानबुलको मेयर बन्नुभएको थियो । टर्कीको राजनीतिमा इस्तानबुलको मेयर हुनु भनेको भावी राष्ट्रपतिको दाबेदार हुनु हो । टर्कीको सबैभन्दा ठूलो र व्यापारिक केन्द्र इस्तानबुल यूरोपसँग आवत्जावत् र व्यापारका दृष्टिले पनि निकट छ ।

टर्कीमा विपक्षीको जितसँगै राष्ट्रपति इरडोगेनको शक्ति घट्ने आँकलन भइरहेको छ । विजयी इमामोग्लुले टर्कीमा नयाँ शुरुवात भएको बताउनुभएको छ । भविष्यमा उहाँले राष्ट्रपति इरडोगेनलाई कडा चुनौती दिने संकेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू