अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

लोक सेवाको विज्ञापनसम्बन्धी रिटमाथिको सुनुवाइ आईतवार पनि टुंगिएन

बिआरटीनेपाल २०७६ असार ८ गते ९:५७ मा प्रकाशित

लोक सेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि खुलाएको विज्ञापनसम्बन्धी रिटको सुनुवाइ आज पनि टुंगिन सकेन । लोक सेवा आयोगको विज्ञापनसम्बन्धी ४ वटा रिटमाथि सर्वोच्चमा आइतवार न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएपनि बहस जारी रहेकाले हेर्दाहेर्दैमा राखिएको छ ।

अधिवक्ता विकास ठाकुरले लोक सेवाले खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशीअनुसार नरहेकाले रद्द गर्नुपर्ने जिकिरसहित सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । लोक सेवाको सो विज्ञापनसम्बन्धी अन्य ३ रिट पनि सर्वोच्चमा छ । ती रिटहरूमाथि छुट्टाछुट्टै सुनुवाइपछि सर्वोच्चले चारैवटा रिटलाई एकसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो ।

चारमध्ये एक रिटमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिलाई विपक्षी बनाइएको छ । उक्त समितिले विज्ञापन रद्द गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । रिटमा राज्य व्यवस्था समितिको उक्त निर्देशन संविधानविपरीत रहेको जिकिर गरिएको छ ।

लोक सेवाले ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि खुलाएको विज्ञापनको अन्तिम म्याद यही असार १० गतेसम्म छ । दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू