अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

राज्य व्यवस्था समिति र सामान्य प्रशासन मन्त्रालयबीचको जुहारी – मन्त्रीभन्दा कर्मचारी हावी !

बिआरटीनेपाल २०७६ असार ८ गते ९:३४ मा प्रकाशित

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन नरोकिएपछि संघीय संसद् अन्तर्गतको राज्य व्यवस्था समिति र सामान्य प्रशासन मन्त्रालयबीचको विवाद संघीय निजामति ऐन निर्माणका क्रममा पनि देखिएको छ । विवादकै कारण समितिको बैठकमा मन्त्रीभन्दा कर्मचारी हाबी हुन खोज्दा आजको बैठकमा केही बेर होहल्ला समेत भएको छ ।

विज्ञापन रोक्न निर्देशन दिंदा पनि सामान्य प्रशासन मन्त्रालयले नमानेपछि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग समितिका बहुसंख्यक सांसद रुष्ट बनेका छन् । समितिमा पछिल्लो समय निजामति कर्मचारीसम्बन्धी विधेयकमा दफावार छलफल भइरहेको छ ।

मन्त्रालयले प्रस्ताव गरेको निजामति कर्मचारी र स्वास्थ्य समुहका कर्मचारीमा एकरुपता ल्याउने गरि ल्याएको व्यवस्थामा समितिमा आइतबार मन्त्री र सांसदहरुबीच चर्काचर्की नै भएको थियो । बैठकमा सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस सांसदहरुले एकै स्वरमा निजामति कर्मचारीमा पनि श्रेणी हटाएर तहगत व्यवस्था मात्र गर्न सुझाव दिएको बुझिएको छ ।

सांसदहरुको यस्तो भनाई आएलगत्तै बोल्नुभएका सामान्यप्रशासन मन्त्री पण्डितले श्रेणीगत व्यवस्था हटाउनै नसकिने र हटाउन थालिए विद्रोह हुने खतरा रहेको भन्दै बरु आफुले विधेयक नै फिर्ता लिने धम्की दिनुभयो । जस्तो मस्यौदा सरकारले प्रस्ताव गरेको छ, त्यस्तै पास गर्नुपर्छ भन्ने ढंगबाट मन्त्री र मन्त्रालयका पदाधिकारीबाट कुरा आउने गरेको भन्दै सांसदहरुले मन्त्री बोले लगत्तै विरोध जनाएका छन् ।

सांसदहरुको प्रतिक्रियापछि मन्त्रीको बचाउ गर्दै सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला बोल्न खोज्दा केही बेर सांसदहरुले बैठकमै होहल्ला गरेका थिए । संघीय निजामति विधेयकमा मन्त्रालयले प्रस्ताव गरेको भन्दा थुप्रै नयाँ विषय समेट्नुपर्ने सांसदहरुको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू