अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

डिसी मेट्रो सप्ताह सुरु हुनु अगाडी नै २ लाख ४२ डलर सङ्कलन (फोटो फिचर)

विजय थापा २०७६ असार ८ गते ७:३० मा प्रकाशित

वासिंगट्न डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरिएको डिसी मेट्रो सप्ताह कार्यक्रमको पहिलो दिन २ लाख ४२ हजार ३ सय ३९ डलर सङ्कलन भएको छ ।

भर्जिनियाको फेयर फ्याक्स स्थित लोटस मन्दिर परिसरमा सप्ताह महापुराणको आयोजना गरी नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणार्थ गरिएको डिसी मेट्रो सप्ताह सुरु हुनु अगाडी नै उक्त रकम सङ्कलन भएको हो । आयोजकले अमेरिकाको पूर्वीय समय ८:०० बजे सम्म २ लाख ४२ हजार ३ सय ३९ डलर सङ्कलन भएको जानकारी दिएका छन् ।

सङ्कलन वृद्धि हुने क्रम जारी रहेको छ । जुन २२ देखि २९ सम्म सञ्चालन हुने सप्ताहको पहिलो दिन कलश यात्रा विशेष कार्यक्रम मात्र रहेको थियो । ४ सय कलश नेपालबाट झिकाइएको मध्ये सबै समाप्त भएको थियो । मन्दिर ३ पटकको परिक्रमा पछि कलश सप्ताह पुराण मञ्च अगाडी राखिएको छ भने विधिवत रूपमा सप्ताहको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यकममा पाँच दशक भन्दा बढी समय अमेरिकामा रहनु भएका प्रा.डा. विष्णु पौडेल मुख्य सल्लाहकार, सप्ताह संयोजक अरुण रुपाखेती, सप्ताह तथा नेपाली अमेरिकन सामुदायिक केन्द्रका सामाजिक अभियन्ता ददिराम ढुङ्गाना, सप्ताह कै अर्का अभियन्ता गोपाल रेग्मी तथा नेपालबाट सप्ताहको लागि झिकाइएका पण्डित वाचन प्रवीण दिनबन्धु पोखरेलले सप्ताह को बारेमा बोलेका थिए ।

उक्त डिसी मेट्रो सप्ताहमा १२ सय २४ जना मूल समारोह समिति सदस्यहरू रहेका छन् । मूल आयोजक समितिमा विभिन्न समूह उपसमूहहरू बनाई कार्य विभाजन गरिएको छ । डिसी मेट्रो सप्ताह तयारी समितिले आयोजकमा नाम दर्ता गर्नु भएका सबै १२ सय २४ जनाको नाम पनि सार्वजनिक गरेको छ ।

धार्मिक एवं आध्यात्मिक आनन्द प्राप्तिको लक्ष्य सहित सामुदायिक केन्द्र निर्माणको योजनाका लागि आर्थिक सङ्कलन गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेकोले सुरुवात सकारात्मक सङ्केत देखिएको छ । सप्ताहको लागि सहयोग गर्ने अधिकांश दाताहरुले प्रतिबद्धता मात्र नगरी धना देश (चेक) आयोजकलाई हस्तान्तरण गरेका छन् । समुदाय सदस्यहरू विभिन्न प्रकारका सदस्य बन्ने प्रक्रिया उल्लेखनीय रूपमा जारी रहेको छ ।

सप्ताहको पहिलो दिन कलश यात्रामा अत्यधिक महिलाहरूको सहभागिता रहेको थियो । कलश यात्राको लागि उक्त मन्दिर परिक्रमा ३ पटक गर्न ४ वटा लाम बनाइएको थियो । विशेष गरी महिलाहरू सामुदायिक केन्द्र बन्ने कुरामा विश्वस्त रहेको बताएका थिए ।आयोजक तथा पुरुषहरूले पनि अब सामुदायिक केन्द्र बन्न कुनै चिजले बाधा नगर्ने कुरा बताउँदै जसरी भए पनि सामुदायिक केन्द्र बन्ने बताएका थिए । जुन २३ देखि पण्डित पोखरेलले मुख्य वाचकको रूपमा वाचन गर्ने छन् । यसैबिच सप्ताह शुरुहुनु अघि नै पचासौं दाताहरुले गुठियार (ट्रस्टी )र बेनेफ्याक्टर(उपकारी )सदस्य बनेका छन् । 

ईञ्जाका अध्यक्ष पत्रकार गुणराज लुइटेल र सीता लुइटेल जोडी पहिलो ट्रस्टी (गुठियार ) सदस्य बनेका छन् भने साहित्यकार पुरु सुवेदी र कल्पना सुवेदी पहिलो उपकारी (बेनेफ्याक्टर) सदस्य बनेका छन् । यसै गरी भर्जिनियाको सेन्टरभिल स्थित नेपाली पाठशालाले संस्थागत रूपमा पहिलो पकारी (बेनेफ्याक्टर) सदस्य बन्दै १२ हजार डलर हस्तान्तरण गरेको छ । यसै गरी हर्नडनका सामाजिक अभियन्ता गोविन्द सुबेदी दम्पत्ति (जोडी)ले गुठियार सदस्य बन्दै ४ हजार १ डलरको धना देश ( चेक) लगायत थुप्रै सामाजिक अभियन्ताहरू विभिन्न सदस्यहरू बनेका छन् ।

 

प्रतिक्रिया