अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

प्रथम पाक–कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता सम्पन्न

बिआरटीनेपाल २०७६ असार ७ गते ७:४५ मा प्रकाशित

प्रदेश नं ३ की सुनसरी नेपाली बनिन् एक लाख राशिको विजेता

नेपालमै पहिलो पटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना/स्विस कन्ट्याक्टले नेपाल सरकार र स्विस सरकार, विकास सहयोग (एसडीसी) को सहयोगमा आयोजित प्रथम राष्ट्रिय पाक कला प्रतियोगिता २०७६ (National Skill Competition in Cookery) शुक्रवार सम्पन्न भएको छ । 

पोखरामा शुक्रवार सम्पन्न भएको पाककलामा आधारित राष्ट्रिय सीप प्रतियोगितामा प्रदेश नम्बर ३ की सुनसरी नेपाली प्रथम भइन । प्रथम पुरस्कार विजेता नेपालीले नगद रु १ लाख रुपैयाँ प्राप्त गरिन ।

औपचारिक तालीम लिएका वा अनौपचारिक रूपमा आफै सीप सिकेका एवं साना तथा मझौला होटेल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रस्फुटन गराउने मूल उद्देश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाक कला प्रतियोगिताको आयोजना हुन गरिएको हो, जसमा देशका सात वटै प्रदेशबाट पहिलो चरणको प्रतियोगिताबाट छानिएका १४ जना प्रतिस्पर्धीहरूबिच शुक्रवार साँझ पोखरा ग्राण्डमा १४ जना फाइनल चरणमा प्रतियोगिता भएको थियो ।

सातै प्रदेशका १ सय ६३ जना प्रतियोगीहरूबाट विभिन्न चरणमा छनौट गरी फाइनल चरणमा १४ जना छनौट भएका थिए । प्रतियोगितामा प्रदेश नं ३ सुनसरी नेपाली प्रथम भइन भने प्रदेश नम्बर ३ कै रमेश थापाले दोस्रो स्थान हासिल गरे । थापाले नगद ७५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् । यसै गरी प्रदेश नम्बर ५ का ओमप्रसाद ढकालले तेस्रो हुँदै ५० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।

काठमाडौँस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले यो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरेको थियो । प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भइरहेको वेलामा प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए । पर्यटन गण्डकी प्रदेशको प्राथमिकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पाककलाजस्तो पर्यटन क्षेत्रको महत्त्वपूर्ण प्रतिस्पर्धाको थालनी पोखराबाटै आरम्भ भएकोमा सह्राहना व्यक्त गरे ।

गण्डकी प्रदेशका सांसद मिना गुरुङले प्राविधिक तथा सीपमूलक शिक्षाले देशमा रहेको बेरोजगारीको समस्या हल गर्न सकिने विश्वास व्यक्त गरिन् भने पोखरा महानगरपालिकाको मेयर मानबहादुर जिसीले पोखरा उपमहानर पालिकाले प्राविधिक शिक्षालाई समृद्धिको पूर्व सर्तको रूपमा अङ्गीकार गरेको भन्दै यो प्रतियोगिताले आम बेरोजगार युवामा श्रम प्रतिको सम्मानलाई अझै उजागर गर्ने विचार व्यक्त गरे ।

नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजनाका राष्ट्रिय टिम लिडर देवीप्रसाद दाहाल नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको दक्षता मापन प्रणाली स्विस सरकारको सहयोगमा तयारी भइरहेको जानकारी दिँदै यस्ता प्रतियोगिताबाट देशमा लुकेर रहेका सीपयुक्त जनशक्तिको दक्षता बाहिर ल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभीटी) सदस्य सचिव रमेश बखतीले नेपालमा प्राविधिक शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा परिषद्ले हालसम्म सञ्चालित कार्यक्रमहरूबाट हजारौँ नेपाली युवा दक्ष भइसकेको बताए । । नेपाल भ्रमण वर्ष मनाउने तयारी गरी रहँदा नेपालमा प्राविधिक तथा दक्ष जनशक्ति अभाव भएको सन्दर्भमा यस्ता प्रतियोगिताले प्राविधिक जनशक्ति उत्पादन गर्न टेवा पुग्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बखतीले जनाए ।

शिक्षाविद् डा. कुलबहादुर बस्नेतले अब गरिखाने सीप नै राष्ट्रिय समृद्धिको आधार भएको धारणा व्यक्त गरे । प्रतियोगिताको निर्णायकमा वरिष्ठ सेफ गोविन्द नरसिंह केसी, एल.बी.कौशल, राजकुमार लामा रहेका थिए भने सेफ एसोसिएसनका अध्यक्ष श्रीराम अधिकारीले अनुगमन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू