अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

विश्वकप क्रिकेटः उपाधि दावेदार इङ्ल्यान्ड पराजित, श्रीलंका विजयी

बिआरटीनेपाल २०७६ असार ६ गते २२:३१ मा प्रकाशित

एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले आयोजक तथा उपाधि दाबेदार टोली इङ्ल्यान्डलाई पराजित गरेको छ । लिड्समा गएराति भएको खेलमा श्रीलंकाले उपाधि दावेदार इङ्ल्यान्डलाई २० रनले पराजित गरेको हो । श्रीलंकाको जितमा लासिथ मालिंगाले एक्लै चार विकेट लिए ।

श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले ४७ ओभरमा मात्र २ सय १२ रन जोड्दा अलआउट भयो । इङ्ल्यान्डका लागि बेन स्टोक्सले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोय रुटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

इङ्ल्याण्डलाई सस्तैमा समेट्न श्रीलंकाका लागि मालिंगाले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर सर्वा्धिक ४ विकेट लिए । यस्तै धनन्जय डी सिल्भाले ३ तथा इसुरु उडानाले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ बनाएको थियो ।

श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित रहँदै सर्वा्धिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अभिस्का फर्नान्डोले ४९, कुशल मेण्डिसले ४६ तथा धननन्जय सिल्भाले २९ रन बनाए । यो हारसँगै इङ्ल्यान्डले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । इङ्ल्यान्डले ६ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगितामा दोस्रो हार बेहोरेको इङ्ल्याण्ड तेस्रो स्थानमा छ ।

इङ्ल्यान्डलाई हराएसँगै श्रीलंकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम राखेको छ । श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेको छ र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समयअनुसार दिउँसो सवा ३ बजे भारत र अफगानिस्तान भिड्दा साँझ सवा ६ बजे सुरु हुने अर्को खेलमा न्यूजिल्यान्ड र वेस्ट इन्डिज खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू