अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

बिआरटीनेपाल २०७६ असार ६ गते ८:३५ मा प्रकाशित

काठमाडौँ, नेपालका लागि उदीयमान पर्यटन बजारको रूपमा रहेका देशहरू भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल सेल्स मिसन २०१९ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोर्डको तर्फबाट सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष–२०२० को बारेमा चर्चा गर्दै नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रमुख गन्तव्यका साथै एक पटक भ्रमण गर्नै पर्ने गन्तव्यको रूपमा प्रस्तुति दिएका थिए । सो अवसरमा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपाल सम्बन्धी प्रवद्र्धनात्मक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायले नेपाल सरकारले पर्यटनलाई दिएको महत्त्वमाथि प्रकाश पार्दै नेपाल भ्रमण वर्ष–२०२० राष्ट्रिय अभियानका अवसरमा स्वदेशी र विदेशी पर्यटन व्यवसायीहरूलाई थप व्यावसायिक सम्बन्ध विस्तार गर्न आग्रह गरे ।

यस्तै सोट्टो–नेपालका अध्यक्ष मधुसूदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द्र«को रूपमा नेपाल भ्रमण प्याकेज बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी प्रतिनिधिहरूलाई अनुरोध गरे ।

उक्त अवसरमा नेपालबाट सहभागी भएका पर्यटन व्यवसायी र विदेशस्थित पर्यटन व्यवसायीबिच भियतनामको हनोई, कम्बोडियाको न्होम पेँेह र थाईल्याण्डको बैंककमा व्यावसायिक गतिविधि विस्तार सम्बन्धमा अन्तक्रियासमेत सम्पन्न गरिएको थियो । नेपाली राजदूतावास बैंककको सहकार्यमा बैंककमा आयोजना गरिएको नेपाल साँझ–२०१९ मा थाइल्याण्डका लागि नेपालका राजदूत गणेशप्रसाद ढकालले नेपाल र थाईल्याण्डको साठी वर्ष पुरानो र सौहार्दपूर्ण दौत्य सम्बन्धको चर्चा गरेका थिए । उनले थाइल्याण्डका जनतामा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेकोले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीहरूलाई अनुरोध गरे ।

कार्यक्रमको अवसरमा लुम्बिनीका लागि सद्भावना दूत विक्रम पाँडे काजीले बुद्धको जीवन र बुद्धिष्ट सर्किटको विषयमा गहन प्रस्तुति दिएका थिए । नेपाल सेल्स मिसन–२०१९ अन्तर्गत बौद्ध धमावलम्वीहरु बढी भएका तीन वटै देशका पर्यटन व्यवसायी र सञ्चारकर्मी माझ बौद्ध धार्मिक पर्यटनसहित नेपालका पर्यटकीय आकर्षण र नेपाल भ्रमण वर्ष–२०२० को प्रचारात्मक कार्य गरिएको थियो ।

तथ्याङ्कअनुसार सन् २०१८ मा भियतनामबाट १२ हजार ४ सय ५४ जना, कम्बोडियाबाट ३ हजार ७ सय ९० जना र थाईल्याण्डबाट ५३ हजार २ सय ५० जना पर्यटकहरू नेपाल भ्रमणमा आएका थिए । यता नेपाल वायु सेवा निगमले सातामा तीन पटक काठमाडौँ–बैंकक–काठमाडौँ हवाई सेवा सञ्चालन गरिरहेको छ । यस सहज आवागमनले यी देशहरूबाट नेपालमा पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल सेल्स मिसन कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट प्रबन्धकद्वय खड्ग विक्रम शाह र सुमन घिमिरे, सोट्टो–नेपालका निवर्तमान अध्यक्ष अनिल लामा, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्टस् (नाट्टा) का प्रथम उपाध्यक्ष अच्युत गुराँगाईसहित नेपाली पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया