अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

चीनका राष्ट्रपति सी उत्तर कोरियामा

बिआरटीनेपाल २०७६ असार ५ गते ४:२३ मा प्रकाशित

चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया पुग्नुभएको छ । सन् २००५ यता कुनै चिनियाँ शीर्ष नेताको यो पहिलो उत्तर कोरिया भ्रमण हो । सन् २०१२ मा सत्तामा आएका सी पहिलोपटक उत्तर कोरिया जानुभएको हो । सी र उत्तर कोरियाका नेता किम जोङ–उनबिच अहिलेसम्म चारपटक औपचारिक भेट भएका छन्, तर ती सबै भेट चीनमा भएका हुन् ।

उत्तर कोरिया भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाका नेताबिचको भेटवार्तामा उत्तर कोरियाको परमाणु कार्यक्रम तथा वित्तिय मुद्दामा छलफल हुनेछ । गएको फेब्रुअरीमा हानोइमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबिचको वार्तामा सहमति नजुटेपछि सीले पहिलोपटक किमलाई भेट्न लाग्नुभएको हो । उत्तर कोरियाको परमाणु निशस्त्रिकरणका सम्बन्धमा कुनै सहमति नै नगरी ट्रम्प–किम वार्ता टुंगिएको थयो ।

यस्तो परिवेशमा हुन लागेको सीको उत्तर कोरिया भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भ्रमणको अघिल्लो दिन बुधबार चीनका राष्ट्रपति सी जिनपिङले चीनको साथ र सहयोग उत्तर कोरियासँग रहेको बताउनुभएको थियो । उत्तर कोरियाको राष्ट्रिय पत्रिका रोडोङ सिन्मुनमा प्रकाशित भएको ओप–एडमा राष्ट्रपति सीले उत्तर कोरियाको सही दिशाका लागि चीनको साथ रहने उल्लेख गर्नुभएको हो ।

कोरियाली प्रायद्विपमा जारी तनाव राजनीतिक या कूटनीतिक रुपमा समाधान गर्नका लागि चीनले सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गर्नुभएको छ । जापानमा अर्को हप्ता हुने जी–ट्वेन्टी सम्मेलन पूर्व सीले उत्तर कोरियाको भ्रमण गर्नुभएको हो । जापानमा हुने सम्मेलनमा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू