अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

विश्वकप क्रिकेट – बंगलादेशसँग वेष्ट इन्डिज पराजित

बिआरटीनेपाल २०७६ असार ३ गते १०:०२ मा प्रकाशित

वेष्ट इन्डिजलाई पराजित गर्दै बंगलादेशले एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने आशा जगाएको छ । इंग्ल्याण्डमा गएराति भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो । खेलमा वेष्ट इण्डिजले दिएको ३२२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।

एक दिवसीय क्रिकेटमा बंगलादेशको यो अहिलेसम्मको ठूलो लक्ष्य पछ्याएर हात पारेको जित हो । बंगलादेशको जितमा शकिब अल हसनले अविजित रहँदै १२४ रन जोड्दा लिटोन दास ९४ रनमा अविजित रहे । जारी विश्वकपमा शकिबको यो दोस्रो शतक हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनाएको थियो । उसका लागि साई होपले ९६ रन जोड्दा इर्भिन लेविसले ७० रन बनाए । बलिङतर्फ बंगलादेशका मुस्तफिजुर रहमान र महमद सैफदिनले ३–३ विकेट हात पार्दा शाकिब अल हसनले २ विकेट लिए ।

वेष्ट इन्डिजलाई हराएसँगै बंगलादेशले प्रतियोगितामा दोस्रो जित निकालेको छ । ५ खेलबाट ५ अंक जोडेको बंगलादेश अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित वेष्ट इन्डिजको ५ खेलबाट ३ अंक छ ।

विश्वकप क्रिकेटमा आज अफगानिस्तानले आयोजक इंग्ल्यान्डसँग खेल्नेछ । ४ खेलबाट ६ अंक जोडेको इंग्ल्यान्ड तालिकाको चौथो स्थानमा छ भने पुछारमा रहेको अफगानिस्तान ४ खेलमा अंकविहीन छ ।

प्रतिक्रिया