अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन

बिआरटीनेपाल २०७६ असार ३ गते ९:४३ मा प्रकाशित

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका मोर्सीको मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो । जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उहाँ बेहोस हुनुभएको थियो ।

बेहोस् भएर लडेको केही समयमै मोर्सीकोे निधन भएको हो । उहाँलाई सन् २०१३ मा अपदस्थ गरिएको थियो । सन् २०१२ मा निर्वाचितभएको एक वर्षपछि नै इजिप्टको सेनाले उहाँलाई अपदस्थ गरेयता मोर्सी जेलमा हुनुहुन्थ्यो । जेलमा पनि मोर्सीलाई एकान्त ठाउँमा राखिएको थियो । उहाँका परिवार तथा कानुन व्यवसायीसँग पनि निकै कममात्र भेट गर्ने दिने गरिएको थियो ।

अदालतमा उपस्थित गराइएका मोर्सीलाई सिसाको पिँजडाभित्र राखेर करिब पाँच मिनेट बयान लिइएको थियो । अदालत कारबाहीमा बाधा नपुगोस् भनेर त्यस्तो पिँजडामा राखेको बताइएको छ । निधन हुनुको खास कारण भने खुलाइएको छैन । मुस्लिम ब्रदरहुड दलले भने आफ्ना नेताको निधनलाई हत्याको संज्ञा दिएको छ । उसले मोर्सीलाई उपचार सेवासमेत नदिइएको आरोप लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू