अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

कांग्रेसले अलोकतान्त्रिक र अमर्यादित प्रवृत्ति देखायो – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असार ३ गते ९:३४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा अलोकतान्त्रिक, असंसदीय, र अमर्यादित व्यवहार देखाएको बताउनुभएको छ । मंगलबार साँझ पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले भन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बिषय बालहठ भएकोे टिप्पणी गर्नुभयो ।

आजको संसद् बैठकमा लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी स्पष्ट ढंगले देखिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले घोर दक्षिणपन्थी देखि घोर वामपन्थी समेत एकजुट भएको बताउनुभयो । यस्ता प्रवृत्तिप्रति सहज हुनुपर्ने कांग्रेस आफैं परिर्वतनकारी शक्तिहरुलाई विथोल्न लागेको उहाँको आरोप थियो ।

प्रधानमन्त्रीले कांग्रेस गैरजिम्मेवार रहेको र अहिलेको नेकपा सरकार जिम्मेवार रहेको समेत दावी गर्नुभयो । संसदमा आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आश्चर्य लाग्दो कुरा भएको प्रधानमन्त्रीको भनाई थियो । अहिलेको सरकार राष्ट्रिय हित र लोकतन्त्रका लागि प्रतिबद्ध रहेको जिकिर समेत प्रधानमन्त्रीले गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणकाबारेमा समेत जानकारी गराउनुभएको थियो । आफ्नो युरोप भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको सम्बन्ध थप विस्तार भएको उहाको दावी थियो । सो अवसरमा प्रधानमन्त्रीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राष्ट्रियसभामा दर्ता गराएको गुठीसम्बन्धी विधेयक फिर्ता लिएको जानकारी सन्चारमाध्यमबाट आफूले पाएको सुनाउदै उक्त कदम उचित भएको समेत बताउनुभयो ।

गत आइतबार युरोप भ्रमणबाट फर्केपछि ओलीले विपक्षीलाई आन्दोलन गर्न नदिने भन्दै विधेयक संशोधन गर्ने बताउनुभएको थियो । पत्रकार सम्मेलनमा सन्चारमाध्यमप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीले भाषा, बोलाइमा सुधार ल्याउन आग्रह गर्नुभयो । सामाजिक क्षेत्रमा सन्चारमाध्यमबाट बोलिएको कुरा सार्वजनिक हुने भएकाले त्यसप्रति सचेत रहन उहाँले संचारजगतलाई आव्हान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू