अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

नेपालको नानो स्याटेलाइटद्वारा पृथ्वीको परिक्रमा सुरु

बिआरटीनेपाल २०७६ असार २ गते ९:३० मा प्रकाशित

गत वैशाख ५ मा अमेरिकाको भर्जिनियामा रहेको बल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नेपालको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपरान्ह ४ बजेर १९ मिनेटबाट सो नानो स्याटेलाइट ‘नेपालीस्याट– १’ अन्तरिक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न सुरु गरेको हो ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीद्वय स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको यो स्याटेलाइट वैशाख ५ राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो ।

१० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम समावेश छ । अन्तरिक्षमा रिलिज भएपछि यसले अन्तरिक्षबाट मौषमी सूचना र तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । स्याटेलाइट अन्तरिक्षमा पुगेपछि नेपालले पनि अध्ययन अनुसन्धान थाल्न सक्ने दावी सरकारी अधिकारीहरुको छ ।

स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव हाँसिल हुने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले जनाएको छ । यो स्याटेलाइट पठाउन लागेको खर्च नेपाल सरकारले ब्यहोरेको छ । नेपाली स्याटेलाइट– १ ले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू