अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

मिस नेवाः ११३९ को उपाधि नीतु डङ्गोललाई

बिआरटीनेपाल २०७६ असार १ गते १२:०३ मा प्रकाशित

काठमाडौँ– १४ औँ संस्करणको ‘एनटिसी मिस नेवाः ११३९’ को उपाधि नीतु डङ्गोलले जितेकी छिन् । प्रतिस्पर्धी १६ जना युवतीहरूलाई पछि पार्दै नीतुले नगद २५ हजार रुपैयाँ“सहित विभिन्न उपहारहरू प्राप्त गरिन् । नीतिलाई मिस नेवाः ११३८ रीजु मानन्धरले विजेताको मुकुट पहिराइदिएकी थिइन् । 

नेप्लीज फेसन होमले आयोजना गरेको यो प्रतियोगितामा सञ्जिता महर्जनले फस्ट रनर्स अपको उपाधि जित्न सफल भइन् । उनले पनि नगद राशि १२ हजार रुपैयाँ“सहित विभिन्न उपहारहरू प्राप्त गरिन् । सञ्जिताले मिस फ्रेण्डशीपको उपाधि पनि जितिन् । स्केना कोजुले सेकेन्ड रनर्स अपमा चित्त बुझाइन् । उनले पनि नगद राशि १० हजार रुपैयाँ सहित विभिन्न उपहारहरू प्राप्त गरिन् ।

लतिलपुर महानगरपालिकाका मेयर चिरिबाबु शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न मिस नेवाः ११३९ को ग्राण्ड फिनालेको निर्णायकमा बैंकर भाइ राजा तुलाधर, गायक प्रवेशमान शाक्य, नेपाल क्यूकोसिन सिसन कराँते एसोसिएसनका अध्यक्ष अशोककुमार श्रेष्ठ, बुटिक एसोसिएसनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, सञ्चारकर्मी विजय रत्न तुलाधर, मेकअप आर्टिष्ट मञ्जु कार्की पाण्डे थिए ।

नेवार समुदायका युवतीहरूले मात्र सहभागिता जनाएको उक्त प्रतियोगितामा यूनिषा शाहीले मिस पर्सनालिटीका साथै सोसल वेलफेयर एम्बेसडर चिफको अवार्ड जित्न सफल भइन् । त्यसै गरी पल्सा महर्जनले मिस पब्लिक च्वाइसका साथै सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट रनर्स अपको उपाधि जितिन् भने रोजी शाक्यले वेस्ट हेयरको उपाधि जितिन् ।

प्रतियोगिताका अन्य उपाधिहरूतर्फ कृतिका प्रजापतिले वेस्ट स्किन, कृषा गैंजुले वेस्ट स्माइल, बिदिशा श्रेष्ठले मिस डिसिप्लिन, अजुमी शाहीले मिस फोटोजेनिक, सङ्गीता महर्जनले मिस फ्रेण्डशिप, सिर्जना श्रेष्ठले मिस चार्मिङ, कञ्चन तिताजुले मिस एलिगेन्ट , इसा श्रेष्ठले वेस्ट ड्रेस, रेफिना श्रेष्ठले सोसल वेलफेयर एम्बेसडरतर्फको सेकेन्ड रनर्स अपको उपाधि जितिन् । प्रतियोगितामा सजिना श्रेष्ठले मिस ट्यालेन्टको उपाधि जितिन् । रोशनी कुम्पाखाले उत्कृष्ट नेपाल भाषाको उपाधि जित्न सफल भइन् ।

प्रतियोगिताको क्रममा सहभागी युवतीहरूले विभिन्न पहिरनहरूको फेसन सो समेत प्रस्तुत गरेका थिए । समारोहमा गायक प्रवेशमान शाक्यले नेवारी भाषाकै गीत–सङ्गीत प्रस्तुत गरेर उपस्थित दर्शक तथा श्रोताहरूलाई मनोरञ्जन प्रदान गरेका थिए भने विभिन्न नृत्य कलाकारहरूले परम्परागत नेवारी नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार कला, संस्कृति, गीत, सङ्गीत, नृत्य, रितीरिवास, रहनसहन, खानपिन आदिका बारेमा जानकारी गराउन तथा तीनको संरक्षणका लागि यो प्रतियोगिता आयोजना गरिएको बताएकी छिन् । 

प्रतिक्रिया