अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४३ | Colorodo: 14:58

अमेरिकाको मेरिल्याण्डमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

सन्तोष लामिछाने २०७६ जेठ ३१ गते ४:५८ मा प्रकाशित

अमेरिका, विगत दुई वर्षदेखि अमेरिकाको मेरिल्याण्ड राज्यमा हुँदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव यसबर्ष जुन २८ शुक्रवार देखि जून ३० आइतबार हुने भएको छ । महोत्सवको सुरुवात नेपाली चलचित्र बुलबुलको प्रदर्शनबाट हुने भएको छ । महोत्सवमा बुलबुलका निर्देशक विनोद पौडेलको उपस्थिति रहने छ । साथसाथै महोत्सवमा “गुड बाइ काठमाडौँ” का निर्देशक नवीन सुब्बा, “कालो पोथी” का निर्देशक मीन बहादुर वाम तथा वासिंगटन डिसी क्षेत्रमा रहेका नेपाली कलाकारहरूको उपस्थिति रहने महोत्सवका प्रमुख पूर्ण सिंह बराइलीले बताए ।

महोत्सवको अन्त्य नेपाली चलचित्र “कथा ७२” बाट हुने भएको छ । महोत्सवमा नेपाली मात्र नभएर विभिन्न देशका उत्कृष्ट चलचित्रहरू प्रदर्शन हुने र फिल्महरू सम्बन्धी छलफल कार्यक्रमहरू पनि गरिने आयोजकको वेबसाइटमा उल्लेख गरिएको छ ।नेपाली डायस्पोरामा रहेका व्यक्तिहरूलाई नयाँ चलचित्र बनाउने कुनै अभिप्राय भए छलफल गर्न “नयाँ फिल्म फोरम” पनि आयोजना गरिने भएको छ ।

महोत्सवको आयोजनालाई मेरिल्याण्ड फिल्म अफिस, प्रिन्स गर्ज काउन्टी पार्क एन्ड रिक्रिएसन अफिस तथा अन्य नेपाली व्यवसाय तथा व्यक्तिहरूले आर्थिक सहयोग गर्ने भएका छन् ।

महोत्सवमा प्रदर्शन भएका चलचित्रहरू मध्येबाट उत्कृष्ट चलचित्रलाई सम्मान गरिने छ । उत्कृष्ट चलचित्र छान्ने निर्णायक मण्डलीमा मीन बहादुर वामको अधक्षता रहने छ भने चर्चित महिला चलचित्रकर्मी रेबेका बुस्टामाण्टे र मिमी माकाडो-लुसीको पनि सहभागिता रहने छ ।

पहिलो वर्ष २०१७ मा चलचित्र Serdhak – The Golden हिल उत्कृष्ट बनेको थियो भने दोस्रो वर्ष २०१८ मा “बिजुली मेसिन” उत्कृष्ट चलचित्रमा विजयी भएको थियो ।

नेपाली चलचित्र, कला, संस्कृति र कलाकारहरूलाई विश्वसँग जोड्न उक्त चलचित्र महोत्सवको सुरुवात गरिएको नेपाली आयोजक नेपाली अमेरिका चलचित्र समाजले बताएको छ ।

प्रतिक्रिया