अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

लोकसेवाको विज्ञापन फिर्ता लिन र करारमा कर्मचारी नराख्न काँग्रेसको माग

बिआरटीनेपाल २०७६ जेठ ३० गते ९:२७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले स्थानीय तहमा ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै खोलिएको लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने बताएको छ । आज पार्टी कार्यालय सानेपा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले राज्य व्यवस्था समितिको निर्देशनमा काँग्रेसको समर्थन रहेको भए पनि करारमा कर्मचारी भर्ना गर्न नहुने बताउनुभयो ।

संविधानको व्यवस्थाअनुसार लोकसेवाले कर्मचारी भर्ना प्रक्रिया पुनः अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । संसदको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन संविधानको मर्मअनुसार नभएको भन्दै रद्द गर्न यसअघि नै निर्देशन दिइसकेको छ ।

प्रवक्ता शर्माले जागरण अभियानको क्रममा एक महिनामा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, र्याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो ।

अभियान क्रममा सत्तारूढ पार्टी एवं अन्य विभिन्न पार्टीबाट देशभरिका कार्यक्रममार्फत ३१ हजार ६ सय ४२ काँग्रेसमा प्रवेश गरेको पनि उहाँले दावी गर्नुभयो । जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ गते वीपी जयन्तीका दिन सुरु भई असोज ७ गतेसम्म चल्ने भएको छ ।

पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिबीच विशेष विर्मश गरी जागरण अभियानको प्रथम चरणको समीक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दामा केन्द्रित रहेर काँग्रेस केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू