अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

साउन १ गतेदेखि सबै निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

बिआरटीनेपाल २०७६ जेठ २२ गते ९:४५ मा प्रकाशित

नेपाल निर्माण व्यवसायी महासंघले साउन १ देखि सबै निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ । सार्वजनिक खरिद नियमावली (छटौं संशोधन) २०७५ का केही बुँदाविरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेलामार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

साउन १ अघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम समेत सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार व्यवसायीले इजाजत पत्र सरकारलाई बुझाउने र कार्यक्षेत्रमा कालोपट्टी बाँधी काम गर्ने जनाइएको छ । महासंघका अध्यक्ष रवि सिंहका अनुसार ७७ जिल्ला प्रशासन कार्यालय, प्रदेशमा मुख्य मन्त्रीको कार्यालय तथा केन्द्रमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा व्यवसायीहरुले धर्ना दिनेछन् । त्यस्तै सडकमा शान्तिपूर्र्ण याली निकाल्ने र पछि आ–आफ्नो हेभी उपकरणसहित प्रदर्शन गर्ने महासंघले जनाएको छ ।

जेठ १४ बाट थालिएको टेण्डर बहिष्कारको आन्दोलनलाई पनि महासंघले निरन्तरता दिने भएको छ । राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको सुझावविरुद्ध आएको नियमावलीका केही बुँदाले समग्र निर्माण क्षेत्रलाई तहसनहसन बनाउने बताउनुभयो ।

सबैको अहित हुने गरी नियमावली आउँदै छ भन्ने पूर्वसूचना पाएपछि समयमै सरोकारवाला निकायलाई सचेता गराउँदा समेत कुनै सुनुवाई नभएको अध्यक्ष सिंहको भनाइ थियो । व्यवसायीविरुद्ध राज्य निरंकुश शैलीमा प्रस्तुत भएकाले आन्दोलनको विकल्प नभएको भन्दै अध्यक्ष सिंहले अब सरकारले ऐन पनि कडा किसिमको ल्याउने सम्भावना रहेका संकेत गर्नुभयो । भद्र किसिमले आन्दोलन गर्दा कुनै सुनुवाई नभएकाले अब महासंघ सशक्त आन्दोलनको तयारीमा लागेको उहाँको भनाई छ ।

प्रतिक्रिया