अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

१३ जना नेपाली रसियामा तीन महिनादेखि अलपत्र

बिआरटीनेपाल २०७६ जेठ २२ गते ८:३५ मा प्रकाशित

रसियामा १३जना नेपाली नागरिक विगत ३ महिनादेखि अलपत्र परेका छन् । ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका हुन् । बौद्धस्थित काठमाडौँ ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महिना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेको बुझिएको छ ।

अलपत्र पर्नेमा रामेछापका खगेन्द्रबहादुर सुनुवार, गोविन्द तामाङ र कुमार मगर, इलामका प्रेमबहादुर गुरुङ र शेरबहादुर गुरुङ, धनकुटाका बोमदेवान राई, पाँचथरका विनोद गुरुङ, ओखलढुङ्गाका तेजबहादुर राई, नवलपुरका दीपबहादुर आले मगर र सुजन झण्डी मगर, चितवनका अनिल तामाङ, काठमाडौँका सविन बस्ताकोटी तथा उदयपुरका देवराज विष्ट रहेका छन्।

दुई चरणमा गरेर रसिया पुगेका ३४ कामदारमध्ये केहीलाई आंशिक मात्रामा काम दिएर न्यून पारिश्रमिक मात्र दिइएको बताइएको छ । ५०० अमेरिकी डलर मासिक पारिश्रमिक दिने भनी सम्झौता गरेर लगिए पनि कम्पनीले आठ हजारमात्र पारिश्रमिक दिएको कामदारले आरोप लगाएका छन् । मस्कोस्थित नेपाली दूतावासले आफूहरुको समस्या समाधान गर्न कुनै चासो व्यक्त नगरेको पीडित कामदारको गुनासो छ ।

उद्धार गरेर आफूहरुलाई नेपाल फर्काइदिन उनीहरुले नेपाल सरकार र मस्कोस्थित नेपाली दूतावाससमक्ष आग्रह गरेका छन् ।

– अशोक घिमिरे (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू