अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

अनुपमको अवार्ड पुरुषोत्तम र विश्वमोहनलाई, सम्मान सुमन र डेनीलाई

बिआरटीनेपाल २०७६ जेठ २० गते १८:४९ मा प्रकाशित

पोखरा, जेठ १६ गते । अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ लोकगायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने भएको छ ।

सम्मानपत्र, दोसल्ला र नगदसहित प्रदान गरिने अवार्ड गायक न्यौपानेले नेपाली लोकगीतको उत्थानमा महत्वपूर्ण योगदान गरेको भन्दै अवार्ड प्रदान गर्न लागिएको हो । न्यौपानेको स्वरमा १ हजारभन्दा बढी गीत रेकर्ड भएका छन् । यस्तै यस वर्षको तीर्थहरि समाजसेवा अवार्ड समाजसेवी विश्व मोहन गौचनलाई प्रदान गरिने भएको छ । एड्स रोग नियन्त्रण सङ्घ, कास्कीलगायत दर्जनौँ सामाजिक संस्थामा रहेर समाजसेवाका क्षेत्रमा गौचनले पु¥याएका योगदानको कदर गर्दै उक्त नगदसहितको अवार्ड प्रदान गरिने बताइएको छ ।

यसै गरी, अनुपम सङ्गीत सम्मान गीतकार सुमन श्रापित र सङ्गीतकार डेनी निरौलालाई प्रदान गरिने भएको छ । पोखरामा रहेर २ दशकदेखि गीत लेखनमा लागेका श्रापितका १५० भन्दा बढी गीत रेकर्ड भएका छन् भने आधा दर्जन एलबम र ‘भावनाको खेती’ नामक गीत सङ्ग्रह प्रकाशित छन् । निरौलाको सङ्गीतमा ३ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । अवार्ड तथा सम्मानहरू पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा समाजसेवी वीरेन्द्र पालिखे, गायक/सङ्गीतकार रामभक्त जोजिजू, गीतकार रेसम रचक, प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा प्रदान गरिने भएको हो ।

सबै अवार्ड तथा सम्मान आगामी जेठ २५ गते शनिवार पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने छैटौँ अनुपम साङ्गीतिक साँझका अवसरमा प्रदान गरिने आयोजक मूल समितिका संयोजक अनुराग अधिकारीले बताए । सो कार्यक्रममा दार्जिलिङ, काठमाडौँ र पोखराका कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू