अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा सरिता र रविन्द्र, महासचिवमा सिंह र खतिवडाको भिडन्त

बिआरटीनेपाल २०७६ जेठ २० गते ९:२९ मा प्रकाशित

नेपाल चलचित्र कलाकार संघको अध्यक्षका लागि दुईजना भिड्ने भएका छन् । संघको २५ जेठ हुने साधारणसभामा अध्यक्ष पदका लागि अभिनेत्री सरिता लामिछाने र अभिनेता रविन्द्र खड्काको उम्मेद्वारी परेको छ । संघको नेतृत्व गर्न उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन गत १८ गते शनिबार अध्यक्ष पदका लागि लामिछाने र खड्काको मात्र उम्मेदवारी परेको थियो।

वरिष्ठ चलचित्रकर्मी नीर शाहको संयोजकत्वको निर्वाचन समितिले अध्यक्ष पदका लागि यी दुईको मात्र उमेदवारी परेको सार्वजनिक गरेको छ । अध्यक्ष पदमा उमेदवारी दिनेमध्ये लामिछाने वर्तमान कार्यसमितिको महासचिव हुनुहुन्छ भने खड्का नेपाल कलाकार संघको एक कार्यकाल अध्यक्ष भईसक्नुभएको छ । त्यस्तै संघको उपाध्यक्ष पदका लागि अभिनेत्री रेजिना उप्रेती, मनोज के.सी., सानुकुमार ताम्राकार, विनोद भट्टराईको नाम दर्ता भएको छ ।

महासचिवमा भने सञ्जय खतिवडा र चेतबहादुर सिंहले उम्मेदवारी दिनुभएको छ । सिंह वर्तमान सचिव हुनुहुन्छ भने खतिवडा अघिल्लो महाधिवेशनमा सिंहसँग सचिव पदमा पराजित उम्मेद्वार हुनुहुन्छ । यस्तै सचिव पदका लागि अभिनेत्री पनाह अधिकारी, कविता शर्मा गेलाल र अभिनेता राजकुमार शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ भने सहकोषाध्यक्ष पदमा पवित्रा आचार्य र डीबी बमजनले पनि उम्मेदवारी हाल्नुभएको छ । ७ जना संख्या रहेको कार्यसमिति सदस्यको लागि १२ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्तामा कोषाध्यक्ष पदमा भने सुनिल कटुवालको मात्र उम्मेदवारी परेकोले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ । तर निर्वाचन कमिटीले घोषणा गर्न बाँकी रहेको छ । २२ जेठमा प्रकाश गरिने अन्तिम नामावलीमा निर्विरोध घोषणा समेत गरिनेछ ।

प्रतिक्रिया