अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

न्युयोर्कका नेपाली कवि र कविता – अनेसासको सहभागिता

विष्णु सिंह (बैजु) २०७६ जेठ १४ गते १९:२७ मा प्रकाशित

भनिन्छ साहित्य समाजको दर्पण हो । अथार्त समाजमा जे जस्ता घटना वा अवस्था रहेको हुन्छ त्यसको चित्रण वा अभिव्यक्ति यसका विभिन्न विधा जस्तै नाटक, कथा कविता, उपन्यास,चलचित्र, हास्यव्यङ्ग्य इत्यादिमा उजागर हुने गर्दछ। गत मे १९ तारिख ज्यक्सन्हाईट, न्युयोर्कको जेविस सेन्टरमा लोकार्पण गरिएको “न्युयोर्कका नेपाली कवि र कविता” सङ्ग्रहमा वर्तमान नेपालको विविध पक्षमा पचास (५०) निकै मार्मिक अभिव्यक्ति रहेको छ। तल केही रचनाका अंशहरू प्रस्तुत गरिएको छ।

विशाल शाह भन्छन् -” जन्जिरमा बाँधिएको छ मेरो देश।”

गीता खत्री – “गर्भे देखि आमाको महत्त्व र महिमाको पहिचान ।”

विष्णु सिंह – “गरिबी र बेकारिमा पिल्सिएको नेपाली समाजले बिदेसिन बाध्य परेको युवा-युवती ।”

शकुन ज्ञवाली – ” पुरुषले कल्पना गर्न नसक्ने बलात्कृत स्त्रीको मानसिक पिडा। त्यसैले पुरुषलाई पनि नारी भएर जन्मन परोस् भन्ने भगवानसँग प्रार्थना।”

कमला प्रसाई- “साहित्यको नाममा दलाली गर्नेहरूको बिगबिगी, नेपालमा चेलीहरूको तस्करी, देशलाई छिया-छिया पार्नेहरूले नेपाल राष्ट्रको गीत गाउँ नै छाडे।”

अजय छोचुं – “आफ्नो आत्मा कथा। सर्वत्र सहभागी भए पनि परदेशमा आएर आफू आफै भित्र हराएको आभास।”

विजय शिंखडा – नेपाली समाजमा बढ्दो पारपाचुके। आमा र बुबाको संयुक्त माया पाएर यस धर्तीमा हुर्कनु पर्ने बच्चामा पर्ने मानसिक पिडाको चित्रण।”

लक्ष्मी श्रेष्ठ- ” यहाँ साथी, नाता सबै लोकाचारी हुन्। कोही आफ्ना हुँदैनन्। मरेकी आमाको लास चिहानमा पुर्‍याउने सामग्री खरिद गर्न समेत पैसा वाकी नराखी पावर अफ अटोर्निको दुरुपयोग गर्नेलाई कसरी आफ्नो नाता भनी मान्ने प्रश्न।”

राजेन्द्र श्रेष्ठ- काम नगरी, केही उपलब्धि नदेखाई पद धारण गर्नु वा पद लोलुप हुनु औचित्यहीन हुने। त्यसैले पद स्वार्थ जति अबो भोक हटोस्। ”

ज्योति पौडेल – “बिधुवा विवाह अझै पनि नेपाली समाजमा पाच्य छैन। जवानीमा विधवा बनेकी नारी कसरी पिडै-पिडामा आफ्नो पहाड जस्तो जिन्दगी बिताउन बाध्य हुन्छे। बिरुवालाई सधुवा भई समाजमा जिउन पाउनु पर्दछ।

डा गोविन्द कोइराला – “बच्चाको वेदनामा सान्त्वना दिने, भरोसा दिने आमा हुन्छन्। तर आमा नै अनेक पिडाले ग्रस्त हुन्छिन् भने बच्चालाइ के होला। वर्तमान पिडाग्रस्त नेपालको अवस्थाले बिदेसिएका नेपालीको मन भित्र नदेखिने चोटको मार्मिक चित्रण। ”
सच्ची मैनाली – “नेपाली समाजमा कुरीति र अन्धविश्वासले सृजना गरेको महिला र पुरुषको विभेद हटाउन महिला स्वयम् जागरुक हुने पर्ने।“

डा. मधु माधुर्य – “कस्तो महान् व्यक्ति त्यो जसले ढुङ्गामा देउता त देख्छ। तर मानिसमा कुनै सम्भावना देख्दैन। जबकि मानिस मै सम्पूर्ण संसार समेटिएको छ। आडम्बरी नेपाली समाजलाई ब्यग्तामक प्रश्न। ”

विकास विष्ट – “भगवानको घरमा बास गर्न गएकी आफ्नो आमाले जीवनसँग सङ्घर्ष गर्दै आफ्ना बालबच्चाहरूलाई ममताको छालले भिजाई हुर्काएको सम्झना।”

पुष्पा अधिकारी गौतम – “दया, माया, करुणा त मानवको संरचना मै समाविष्ट छ। यसलाई चिन्ने प्रयास गरियो भने मानवले सुख शान्ति आफैले सृजना गर्न सक्दछन्।”

डा. तारा निरौला – ”गरिब नेपालीको अवस्थामा प्रकृतिले पनि सहानुभूति प्रकट गरेकी छैनन्। अनेकौँ प्रकोपले सताई नै रहेको छ। महा गरिब बनाइ नै रहेको छ। राहत सिर्फ नाममा नै सीमित रह्यो। गडधनले थामी नसक्नु खादा ओढी राहत दिन्छु भन्नेले पीडितको नाममा आफैले पो राहत लिन थाले।”
अलग अलग कविका अलग अलग अतिथि :

अतिथिहरू: देवी श्रेष्ठ, प्रमीला ढकाल, किरण काफ्ले, आज्ञा शर्मा, दुर्लभ मगर, सिर्जना श्रेष्ठ, एलिना बस्ती, अरुण विश्वनाथ, कृष्ण विष्ट, बद्री पौड्याल, सङ्गीता मुखिया कृष्ण पोखरेल, कमला पौडेल, सूर्य घिमिरे, रिता सुवेदी, कल्पना पाठक, कविन विक्रम शाह, मेनुका रोका, तारा धामी, सुनीति रिजाल, विश्व थापा, भीम पन्थ, अस्मिता महर्जन, माधवी विष्ट, अस्मिता पाण्डेले लगायतका अतिथिहरूले संयुक्त रूपमा कविता सङ्ग्रहको विमोचन गरेका थिए ।

कविहरू: डा.गोविन्द कोइराला, डा. मधु माधुर्य, डा. तारा निरौला, विष्णु सिंह (वैजु), विष्णु पौड्याल, शान्ता अधिकारी घिमिरे, आङछिरिङ शेर्पा,ज्योतिकुमार श्रेष्ठ, पुष्कर बराल, पुनम काफ्ले, शकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, पद्मा लिंखा मगर, आनन्द श्रेष्ठ, पुष्पा अधिकारी गौतम, कमला प्रसाईं, लक्ष्मी श्रेष्ठ, जानुका बस्ती ढकाल, र राजु विजया सिंखडा, विकास विष्ट, ज्योति पौडेल, कृसु क्षेत्री, गीता खत्री, व्याकुल पाठक, विनोद रोका, किशन सिंह धामी, सङ्गीता उप्रेती रिजाल, राजन महर्जन, हन्सराज जोशी, रश्मि भट्ट, परिता राजभण्डारी, अच्युत सिग्देल, पुष्पराज उपाध्याय लगायतका कवि बर तथा कवियत्रीहरुले कार्यक्रममा विभिन्न कविताहरू वाचन गरेका थिए ।
पहिलोपल्ट कविहरूलाई सम्मानको अनुभूति:

पुस्तक विमोचन कार्यक्रममा प्राय सबै नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क़ा सदस्य वा आजीवन सदस्यहरूको सहभागिता रहेको थियो । कवि किशन धामीले कवि व्याकुल पाठकको साथमा अनेसासक़ा कविहरूको रचनाहरू सङ्कलन, सम्पादन गरी पुस्तकका रूपमा जनसमक्ष ल्याएका छन्। सधैँ अपमानित ढङ्गको अनेसास न्युयोर्कको गाउँले पाखे तरिकाको कार्यक्रम सञ्चालन देखिरहेका का रचनाकारहरूले साहित्यक कार्यक्रम के चिज हो र कस्तो हुन्छ भन्ने कुरो पहिलो पल्ट नयाँ अनुभूति गर्न पाएका थिए। साथै आयोजकले पहिलोपल्ट कविहरूलाई सम्मानको अनुभूति दिलाएका थिए। कार्यक्रम विशुद्ध साहित्य प्रवर्धन मै केन्द्रित थियो। साहित्य कर्ममा समर्पित कवि धामीको निष्पक्ष कार्य गर्ने शैलीका कारण यस पटक न्युयोर्कका “मे हुं” भन्ने कवि कवियत्रीहरुको कुनै दूषित राय, सल्लाह, सुझाव लिएनन्।

यद्यपि नामधारि साहित्यकर्मीहरूको कार्यक्रम विफल बनाउने षडयन्त्र जारी थियो । किनकि यस कार्यक्रम पछि उनीहरूको औकात प्रस्ट हुने निश्चित नै थियो। त्यसैले कार्यक्रम चल्दै गर्दा आफ्ना गुट बाहिरकाले कविता बाच्न गर्दा साइड टक गर्ने, हल्ला गर्दै बाचनकर्ताको ध्यान बिथोल्ने कार्य भई नै रहेको थियो।

नयाँ कार्यक्रम शैली:
केन्द्रीय पदमा बसेर पनि केन्द्रको तर्फबाट कुनै साहितिक कर्म गराउन नसकी सधैँ न्यु योर्क च्याप्टरलाई प्रमुख अतिथि बन्ने अखाडा बनाइ आइरहेका केन्द्रका सदस्य, कोषाध्यक्ष लगायतकालाई पहिलोपल्ट यस कार्यक्रम पाखा लगाइयो।

त्यस्तै गरी नेपाल सरकारका प्रतिनिधि जो साहित्यका कुनै जानकार नभए पनि आफूलाई भीआइपी बनाएर कार्यक्रम ढिलो आउने। अनि चाँडो जाने अनि कहिलेकाहीँ त कार्यक्रम चल्दा चल्दै चक्कर काट्न अन्यत्र जाने। तिनलाई पनि यस कार्यक्रममा नेपाल सरकारको पर्यवेक्षकको रूपमा राखियो। अनि तिनी बसे पनि, गए पनि, आए पनि, नआए पनि केही फरक नपर्ने भो।

अनेसास एक विद्वत समुदाय:
अनेसासमा विद्वत समुदाय पनि समावेश भएको छन्। यहाँका आजीवन सदस्यहरू संस्थाको साहित्यिक मुटु हुन्। उनीहरूको गहन विचार, चेतनशीलता कति गहिरो छन् भन्ने कुरा वहाहरुको रचनाहरू पढे थाहा हुन्छ। साहित्यिक संस्था एक नागरिक समाज पनि हो। सीमा भित्र वा बाहिर सार्वजनिक संस्थाको गलत क्रियाकलापको खबरदारी पनि यी बौद्धिक समाजले निर्भयका साथ गरी नै रहेका हुन्छन्। यस्तो गम्भीरतालाई बिचार गरेर अनेसासका केन्द्र तथा च्याप्टरका पदाधिकारीहरूले आफ्ना अहंम र दलाल प्रवृत्ति त्यागी स्वच्छ चुनाव द्वारा कायकारी समिति खडा गर्दै आफ्ना आग्रजहरुले सृजना गरी च्याप्टरको वेब्साईट्मा राखेको सबै कृतिहरूलाई पुन राख्दै सबै एकजुट भई अगाडि बढे नेपाली साहित्यको विकास अवश्य हुनेछ भन्ने सबैको बिचार रहेको छ। कुनै पनि संस्था आफैमा विकसित हुँदैन। यसलाई विकसित बनाउने जिम्मेवारी यसै भित्रका सदस्यहरूको हो। सहृदयले सबै एकजुट भए यसको विकास सम्भव हुन्छ।

प्रतिक्रिया