अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

कुन्ता शर्मा र मातृका तिम्सिनालाई योगमाया सम्मान प्रदान गरिने

बिआरटीनेपाल २०७६ जेठ १४ गते ९:१६ मा प्रकाशित

काठमाडौँ,  नेपाल स्रष्टा समाजले वि सं २०७५ को योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान श्री कुन्ता शर्मालाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान डा. श्री मातृका तिम्सिनालाई प्रदान गर्ने निर्णय गरेको छ ।

“योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान” नेपाली साहित्यमा विशिष्ट योगदान दिएका, सामाजिक रूपान्तरणमा योगदान गर्ने तथा सामाजिक प्रतिष्ठाका हिसाबले समेत नेपाली समाजमा परिचित राष्ट्रियस्तरका नारी स्रष्टालाई हरेक वर्ष प्रदान गरिन्छ । सो सम्मान एक सम्मानपत्र र राशि रू. २५,१११ सहित समर्पण गरिन्छ । विसं २०६५ मा स्थापित यस राष्ट्रिय सम्मानबाट २०७५ सालसम्ममा १० जना विशिष्ट नारी स्रष्टाहरू सम्मानित भई सकेका छन् ।

यसै गरी “योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान” योगमायाका बारेमा समेत अध्ययन तथा अनुसन्धान गरेको या उनका आदर्शलाई पछ्याउँदै सामाजिक रूपान्तरणका निम्ति विभिन्न माध्यमबाट अभियन्ता भई काम गरेको व्यक्तिलाई प्रदान गरिन्छ । यो सम्मान पनि सम्मानपत्र र राशि रू. २५,१११ सहित समर्पण गरिन्छ । यो सम्मान गत वर्षदेखि प्रदान गर्न सुरु गरिएको हो । विसं २०७५ का लागि यी दुई सम्मान आगामी २०७६ साल आषाढ २७ गते शुक्रवार, हरिशयनी एकादशीका दिनमा प्रदान गरिने छ ।

विसं १९९८ सालको असार २२ गते हरिशयनी एकादशीका दिनमा नै सामाजिक सुधारका विषय उठाई महामना योगमायाले आफ्ना ६८ अनुयायीसहित जल समाधि लिएकी थिइन् । नेपाल स्रष्टा समाजले यी दुवै सम्मानका लागि उपयुक्त पात्रका चयनका निमित्त वरिष्ठ साहित्यकार श्री रमा शर्माका संयोजकत्वमा वरिष्ठ साहित्यकार श्री मञ्जु तिवारी ’काँचुली’, गोरखापत्रका सम्पादक श्री श्री ओम श्रेष्ठ रोदन र सम्मानका संस्थापकहरू श्री पवन आलोक तथा श्री राजेश न्यौपाने सम्मिलित एक सिफारिस समिति गठन गरेको थियो । समितिले विभिन्न महानुभाव तथा संस्थाले पठाएका एवम् आफैले अध्ययन गरेर सूचीकृत गरेका माथिका आधार पुग्ने र आफ्नो क्षेत्रमा विशद योगदान दिएका सम्भावित व्यक्तिका नामहरूमा व्यापक छलफल गरी निर्णय लिएको थियो ।

सम्मानका लागि नामहरू पठाई सहयोग गर्ने सर्वसाधारण सबैलाई र सिफारिस समितिमा रही सम्मानित हुनुहुने व्यक्तित्व चयन गर्न सघाउने समिति सदस्य सबैलाई नेपाल स्रष्टा समाजले हार्दिक आभार प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू