अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग वाणिज्य संघको एक करोड सहयोग

बिआरटीनेपाल २०७६ जेठ १० गते ८:२३ मा प्रकाशित

चितवनमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ चितवनले एक करोड रुपैयाँ सहयोग दिने भएको छ । चितवन महोत्सव २०७५ को आयव्यय विवरण सार्वजनिक गर्दै संघले शुक्रबार सो प्रतिवद्धता जनाएको हो । संघका अध्यक्ष सहनलाल प्रधानले महोत्सवबाट बचत भएको रकममध्ये ५५ लाख ५५ हजार ५५५ रुपैयाँ केही दिनमै धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिने बताउनुभयो । उहाँका अनुसार प्रतिवद्धता गरिएको एक करोड मध्ये बाँकी रकम भने पछि दिइने छ । गत पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा आयोजित महोत्सवबाट तीन करोड ४४ लाख ५४ हजार ११७ रुपैयाँ आम्दानी भएको संघका अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका प्रधानले फाउण्डेसनसहित अन्य विभिन्न सहयोगी संघ सस्थालाई पनि संघले सहयोग गर्ने बताउनुभयो । उहाँका अनुसार ६९ लाख ९९ हजार ७९१ रुपैयाँ बचत भएको छ । भरतपुर महानगरपालिका १५ रामपुरमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा धुर्मुस सुन्तली फाउण्डेसनले लिएको छ । फाउण्डेसनले देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी आर्थिक सहयोग संकलन गरिरहेको छ । भदौमा सिलान्यास गर्ने तयारीका साथ रंगशाला निर्माण पूर्वका विभिन्न काम तीब्र रुपमा भइरहेको फाउण्डेसनले जनाएको छ ।

प्रतिक्रिया