अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आर्मीको शानदार सुरुआत

बिआरटीनेपाल २०७६ जेठ १० गते ८:२१ मा प्रकाशित

विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर–२ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुआत गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा आर्मीले दिएको २७९ रनको चुनौती पछ्याएको प्रदेश–२ ले ३१ ओभर ४ बलमा ‘अलआउट’ हुनुपूर्व १०७ रनमात्र बनाउन सक्यो । हरिशंकर साहले सर्वा्धिक २१ रन बनाएको इनिङ्समा आर्मीका सहाब आलमले २९ रन खर्चेर ४ विकेट लिए । सुशन भारीले ३ तथा जितेन्द्र मुखियाले २ विकेट झारे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धा्रित् ५० ओभरमा ९ विकेट गुमाएर २७८ रन बनाएको थियो । ओपनिङ ब्याट्सम्यान राजु रिजालले ९० तथा कप्तान विनोद भण्डारीले ६६ रनको योगदान दिए । प्रदेश–२ का हरिशंकर साहले ३ विकेट लिए ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । यी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार जित्नेछन् । प्रतियोगिताअन्तर्गत् शनिबार सशस्त्र प्रहरीले प्रदेश नम्बर–३ सित खेल्नेछ ।

प्रतिक्रिया