अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

चच हुईको छायाङ्कन हङकङमा

प्रदिप कार्की २०७६ जेठ ९ गते २२:५३ मा प्रकाशित

डेब्यु फिल्म ‘लेटर’ मार्फत नै दर्शक माझ नोटिस भएका निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको पछिल्लो फिल्म ’च च हुई’ को छायाङ्कन गत साता देखि हङकङमा भइरहेको छ । एक साताको सेड्युल लिएर गत शुक्रवार त्यसतर्फ टोली प्रस्थान गरेको थियो । तान्द्रो, अनागत, सुस्केरा र साढे सात निर्देशन गरिसकेका साम्तेन यस पटक कमर्सियल फिल्म निर्देशन गरिरहेका छन् । 

हरेक फिल्ममा कथावस्तु फरक भएता पनि उनले उस्तै प्रकृतिको फिल्म निर्देशन गरिरहेको आरोप उनलाई यदाकदा लाग्ने गरेको थियो , त्यसैले पनि उनले यस पटक भिन्न किसिमकै फिल्म निर्देशन गरिरगेका छन् । नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थानमा फिल्मको छायाङ्कन भइरहेको छ । फिल्मको छायाङ्कनको लागि अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायाकार सुशन प्रजापति, निर्देशक साम्तेन भुटिया, निर्माता अमृत घोले लामा लगायत हङकङमा छन् ।

त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायाङ्कन भइरहेको छ । पुष्कर गुरुङ, मिरुना मगर, बबिता मल्ल लगायतको अभिनय रहेको फिल्मको हिमाली भेगमा सुटिङ सकिएपछी यति बेला टिम हङकङ पुगेको हो । त्यसपछि नेपाल आएर फिल्मको गीतको छायाङ्कन गर्ने निर्माता अमृत घोले लामाले बताए । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो कमेडी जनरको फिल्म हो भने यसलाई सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । ‘यस पटक कमर्सियल फिल्मको जमर्को गरेको छु’ साम्तेन भन्छन् ‘फिल्म मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने प्रयास रहनेछ ।’

फिल्ममा पछिल्लो समयका चर्चित सङ्गीतकार राजनराज सिवाकोटी र रोशन थापाको सङ्गीत रहेको छ । रोशनको सङ्गीत रहेका गीतहरूमा लुटको उध्रेको चोली र जात्राको नोट नोटले चर्चा पाएका थिए ।

साम्तेन भुटिया: यस पटक सबैको सल्लाह अनुसार कमर्सियल फिल्म आँटेको छु । कमेडी जनरको फिल्ममा दर्शकले भरपुर मनोरञ्जन पाउनुहुनेछ । फिल्मको स्टोरी अनुसार नै हामी यहाँ आएका हौ । तस्बिरहरूमा देखिएको दृश्य पनि दुई साथीहरू समुन्द्री किनारमा घुमिरहेको हो । फिल्ममा आर्यनको रोमान्ससँगै कमेडी दर्शकलाई गिफ्ट हुनेछ ।

अमृत घोले लामा: यसै फिल्म मार्फत मैले निर्माताको रूपमा डेब्यु गर्दैछु । एउटा राम्रो फिल्म बनाउने इच्छा थियो , जसलाई यो टिमले पुरा गर्‍यो । हामीले यहाँ फिल्मको दृश्यहरू छायाङ्कन गरिरहेका छौ । हिमालपछि यहाँ र यसपछि हामी काठमाडौँ आसपासमा छायाङ्कन गर्ने छौ । हामी नेपाल फर्किएर गीतको छायाङ्कन गर्नेछौ र छिटै नै रिलिज डेट पनि घोषणा गर्नेछौ ।

आर्यन सिग्देल: निकै रमाइलो भइरहेको छ । सबै टिमले फिल्मलाई राम्रो कसरी बनाउने भन्ने सोचमै हुन्छौ । म आफै पनि निर्माता भइसकेको हुनाले धेरै कुरा बुझेको छु । हामी कथाकै कारण यहाँ आएका हौ । किनकि कथा नै यहीबाट सुरु हुन्छ । लभ स्टोरीमा मलाइ धेरै देख्नु भएको छ, आस छ यो रमकममा पनि रुचाउनु हुनेछ । फिल्ममा रोमान्स त छ नै कमेडी शैलीमा ।